इटहरी : सुनसरीको श्रीलङ्का टप्पुमा बिजुली बत्ती पुगेसँगै हर्षित भएका छन् । ४५ वर्ष देखी बसोबास गर्दै आएका टप्पुवासी भर्खरै मात्र बिजुलीको पहुँचमा पुगेका हुन् ।

सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा टप्पुमा बिजुली पुगेको हो । बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र ६ तथा उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर २ का स्थानीय लाभान्वित भएका छन् । ९ सयको हाराहारी घरधुरी रहेको टप्पुवासीले भर्खरै मात्र घरमा स्विच थिच्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

स्थानीय सुबोध चन्द्रवंशी घरैमा स्विच राख्न पाउँदा धेरै खुसी लागेको बताउँछन् । बिजुली नहुँदा अरूको घरमा मात्र टेलिभिजन हेरेको स्मरण गर्दै उनले भने, 'बिजुली आएपछि घरैमा टिभी राखेको छु । अहिले त आनन्द भएको छ ।'

कार्कीले निर्वाचनको समयमा टप्पुमै पुगेर गाउँमा बिजुली पुर्याउने बाचा गरेका थिए । त्यही बेला आफूहरूले सर्वेक्षण गरेपछि स्थानीहरू खुसी भएको चन्द्रबंसीले सुनाए । “अहिले बल्ला घरमा बिजुली बल्यो, ज्ञानेन्द्र बहादुर कार्कीलाई धन्यवाद दिन चाहन्छु,” उनले थपे

पुणीदेवी चन्द्रवंशी पनि सुबोधको जस्तै खुसी व्यक्त गर्छिन् । बिजुली बलेको कारण चोरी पनि कम भएको र वन्यजन्तुको आक्रमण पनि कम हुन थालेको उनी बताउँछिन् । पहिला रात परेपछि वन्यजन्तुको डरले सुत्न सक्ने अवस्था नभएको भन्दै उनले अहिले त्यस्ती धेरै समस्या नभएको सुनाइन् ।

उता बराहक्षेत्र-६ कि चन्द्रकला राई भने आफ्नो वडामा बिजुली नपुगेको भन्दै पूर्व मन्त्री कार्की सहभागी कार्यक्रममा पुगेकी थिइन् । आफूहरू कोसी कटानबाट पीडित भएको र बिजुली पनि नपुगेको उनले दुखेसो पोखिन् ।

वडा नम्बर ६ का वडाध्यक्ष उद्धव प्रसाद पोखरेलले भने केही दिनमै बाँकी ठाउँमा बिजुली पुग्ने बताए । ३ सय बिजुलीका पोल गाड्ने काम भइरहेकोले सबै तिर बिजुली पुर्याउने गरी काम भएको उनले सुनाए । 'बिजुली ल्याउने बारेमा पहिला देखी पहल भएका थिए तर केही भएको थिएन ।, उनले भने, माननीय ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको बेला बाचा गरेको कुरा पुरा गर्नु भएको छ ।”

टप्पुमा बिजुली पुगेसँगै स्थानीयलाई भेट्न पुगेका कार्कीले आफूले बोलेको पुरा गरेको बताए । स्थानीयले राखेको समस्याबारे सम्बोधन गर्दै उनले आफू बोलेको कुरा गरेरै देखाउने नेता भएको प्रतिक्रिया दिए । कोसी कटान, नेपाली सेनाको ज्यादती, शिक्षा तथा स्वास्थ्यको समस्याको समाधान गरिदिन स्थानीयले अपिल गरेका छन् ।

भर्खरै स्थानीयको बिजुलीको समस्या समाधान भएको बताउँदै उनले अब शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्ने बाचा गरे । स्वास्थ्य क्षेत्र सुधारको लागी १० लाख बजेट मिलाउने प्रतिबद्धता उनले गरेका छन् । त्यस्तै टप्पुमा भएका विद्यालयमा २ थान कम्प्युटर समेत आफै दिने र अन्य समस्याको पनि समाधान गरिदिने बाचा गरेका छन् ।

कोसी कटानको विषय राष्ट्रिय स्तरको विषय भएकाले आफूले सक्दो पहल गर्ने उनको भनाइ छ । कोसीको पूर्व तर्फ भारतीय पक्षले स्परहरु बनाउन थालेपछि पश्चिम पट्टीको भाग कटान हुन थालेको छ । त्यस्तै सेना र प्रहरीको अत्याचारको विषयमा आफूले सम्बन्धित निकाय सँग कुरा गरेर समस्या समाधानको पहल गर्ने उनले बताए ।

कोसी कटानको कारण विगत ५ वर्षमा ८ सय परिवार विस्थापित भएका स्थानीय लक्ष्मण थापा बताउँछन् । कोसी कटान तीव्र भएपछि टप्पु बासीहरू बसाई सर्न बाध्य भएका उनको भनाइ छ ।

Shreelanka-tappu-1Gyanendra-karki-shreelanka