इटहरी : बलात्कार अभियोग लागेका कृष्ण बहादुर गिरी 'सिद्दबाबा' लाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश गरेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई र प्रकाश ढुङ्गानाको संयुक्त इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामै राख्न आदेश दिएको हो ।

उच्च अदालत विराटनगरले गिरीलाई पुर्पक्षको पठाउने आदेश गरेको थियो । तर उच्चको आदेश विरुद्द सर्वोच्चमा पुनरावेदन गिरीले पुनरावेदन गरेका थिए । पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्चले गिरिलाई पुर्पक्षमै पठाउने निर्णय गरेको हो ।

२०७७ कार्तिक १९ गते सिद्दबाबाले थुनाबाट छुटाउने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थिए । ०७७-आर इ-०१५६ नम्बरको निवेदन उपर तेस्रो पटकको आनन्द मोहन भट्टराई र प्रकाश ढुङ्गानाको संयुक्त इजलासले उनलाई थुनामै पठाउने निर्णय गरेको हो ।

२०७६ मङ्सिर १६ गते बलात्कारको अभियोगमा पक्राउ परेका सिद्दबाबाको मुद्दा जिल्ला अदालत सुनसरीमा चलिरहेको छ । गत पुस १४ मा जिल्ला अदालत सुनसरीले गिरिलाई धरौटीमा छोडेको थियो । धरौटीमा छाड्न आदेश गरे लगत्तै सरकारी वकिल कार्यालयले पुन: उच्च अदालत विराटनगरमा जिल्लाको फैसला विरुद्द सिद्दबाबालाई पुर्पक्ष थुनामा पठाउने माग गरेको थियो ।

माग बमोजिम माग ९ गते उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । अहिले उनी क्षेत्रीय कारागार झुम्कामा छन।