धरान : सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्ष पछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ३२ वर्षीय कृष्ण कुमार धामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी लगायत अन्य साथीहरू समेतले २०६४ साल वैशाख २८ गते केटा पक्षबाट साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाविस-४ का सुनेर कुमार ठाकुरलाई बेहुलीको घरमा स्वयंवरको वेला अगाडी उभिएको निहुँमा सामान्य वादविवादको भएको थियो ।

घटना साम्य भएपछि धामी लगायत ५ जनाको टोलीले पिसाब फेर्न निस्केका ठाकुरलाई अन्धयाँरोमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मङ्सिर १२ गते मोरङको उर्लाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकका बुबाले हालेको उजुरी अनुसार सोही घटनामा संलग्न रहेका स्थानीय ३२ वर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी-६ का ३२ वर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । अन्य २ जनालाई प्रहरीले अझै पक्राउ गरेको छैन ।