धरान : तरहरा जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत सङ्कलन भएको छ ।

तरहरा जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत रहेर गरिएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत सङ्कलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सञ्जीव शर्माले अहिले देशमा रगतको चरम अभाव रहेकाले रक्तदान कार्यक्रमको आयोजना गर्नु अनुकरणीय रहेको बताए ।

‘पछिल्लो समय विभिन्न अस्पतालमा रगतको चरम अभाव रहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गर्नु महत्वपूर्ण काम हो ।’सो कार्यक्रममा शर्माले रक्तदान गरी कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।

तरहरा जेसीजका उपाध्यक्ष विवेक विवश रेग्मीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय सामाजिक संस्था लिबरल सोसाइटीले कार्यक्रम प्राङ्गणमा सेनिटाइज समेत गरेको थियो ।

तरहरा जेसीजका अध्यक्ष सुनिल तिम्सिनाले पछिल्लो समय विभिन्न ठाउँबाट रगतको अभाव रहेको सूचनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । सोही कार्यक्रमको अवसर पारेर डस्बिन समेत वितरण गरिएको थियो ।

तरहरा जेसीजका जनसम्पर्क अधिकारी रमेश विकको संयोजकत्वमा तरहरा बजार क्षेत्रमा डस्बिन राखिएको थियो । साथै, शनिवार तरहरा फुटसलमा सचिव उत्तम गिरीको संयोजकत्वमा मैत्रीपूर्ण फुटसलको आयोजना समेत गरिएको थियो ।