धरान : धरानका बुद्धिजीवी बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएको छ ।

उनी लामो समय देखि दिर्घरोग मिर्गौला रोगबाट पिडित थिए । उनको हिजो दिउसो १:२५ बजे आफ्नो निवासमै निधन भएको हो ।

वि.सं. १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए ।

राजनितिक चिन्तक, धरानका अभिभावक, धरानको बाम आन्दोलनका संस्थापक कम्युनिस्ट नेता विए कृष्ण प्रसाद श्रेष्ठको निधनले धरानलाई अपूरणीय क्षति पुगेको डा. राजेन्द्र शर्मा बताउँछन् ।

पुष्पलाल समूह अन्तर्गत कृष्णराज वर्माको समूहमा आबद्ध रहेका श्रेष्ठ २००६ सालमा धरानको पब्लिक माविको पहिलो एसएलसी व्याजमा फस्ट डिभिजन गर्ने विद्यार्थी थिए ।

धरानमा विए गर्ने मध्ये राम्रो डिभिजन ल्याएका कारण उनले विएको उपनाम पाएका थिए । धरानमा पछिल्लो समय विए कृष्णप्रसाद श्रेष्ठको नामबाट परिचित थिए । २०१५ सालमा धरान नगर पञ्चायतको पहिलो कम्युनिस्ट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि पनि हुन् उनी ।

श्रेष्ठको २ छोरा, ३ छोरी र श्रीमती रहेका छन् । धरान उपमहानगरपालिकाको वडा नं. १ मा उनी बस्दै आएका थिए । श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ ।