धरान : सुनसरीको दुहबीमा एक युवकको शव फेला परेको छ ।

पाँच दिनदेखि बेपत्ता दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार आज बिहान ५ बजे दुहबी– २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडिको झाडीमा शव फेला परेको हो ।

मृतक युवक मङ्सिर १० गते देखि बेपत्ता भएका थिए । कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शङ्कास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।