इटहरी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्माण गरिदिने भनिएको १५ शैयाको अस्पताल इटहरीमा शिलान्यास भएको छ ।

सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अस्पताल शिलान्यास गरेका हुन् । हाल इटहरी अस्पतालको पश्चिम पट्टी रहेको खाली जमिनमा अस्पताल बन्ने भएको छ । सो अस्पतालले इटहरीको स्वास्थ्य क्षेत्रमा सुधारको सङ्केत गर्ने आशा लिइएको छ ।

नेकपाको चुनावी घोषणापत्रमा इटहरीमा २ सय शैया सम्मको अस्पताल बनाउने भने पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

जनघनत्व बढेसँगै अस्पतालको अभाव महसुस गरेको इटहरीले भर्खरै १५ शैयाको अस्पताल पाउने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५, १० र १५ शैयाका ३८१ आधारभूत अस्पतालको सोमबार एकसाथ शिलान्यास गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार जग्गा प्राप्त भइसकेको ३८१ अस्पतालको एक साथ शिलान्यास हुने मन्त्रालयले जनाएको छ।

बेलकाको किराँत चौकमा पनि १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

उदयपुरको बेलका नगरपालिकामा पनि १० शैयाको आधारभूत अस्पताल बन्ने भएको छ। अस्पताल भवनको मङ्सिर १५ मा बेलकाका मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुबेदी लगायतले संयुक्त रूपमा बेलका ६ को किराँत चौकमा शिलान्यास गरेका हुन।

Belaka-silanyas

१० करोड ८३ लाख ३६ हजारको कुल लागतमा भवन निर्माण हुने बेलका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले कार्यक्रममा जानकारी गराए। अधिकृत गौतमले डीपीआर पछि लागत थपघट हुन सक्ने जानकारी समेत गराए।

अस्पताल भवनको शिलान्यास सँगै मेयर थापाले बेलका नगरपालिका वडा नं ६ का वडाध्यक्ष वसन्त कुमार मगरलाई एम्बुलेन्सको चाबी समेत हस्तान्तरण गरेका छन्।

एम्बुलेन्स कटुन्जे वबला स्वास्थ्य चौकीको मातहतमा रहने गरी सञ्चालनमा आउने जनाइएको छ भने सुत्केरी आमाहरूको लागि एम्बुलेन्सले निःशुल्क सेवा दिने छ।

आज तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको र सो को क्रममा बेलकामा पनि शिलान्यास गरिएको हो ।

Belaka-Ambulance