इटहरी : नेपाली काँग्रेसले धरानको उपनिर्वाचनमा ऐतिहासिक विजय हासिल गर्‍यो । उपनिर्वाचनमा पाएको सफलता सँगै नेपाली काँग्रेसले कम्युनिस्टको गढ भत्काएको र जनताले भरोसा गरेर काँग्रेसलाई जिताएको विश्लेषण भयो ।

काँग्रेस सभापति शेरबहादुर देउवा आफै धरानमा आएर निर्वाचित मेयर तिलक राईलाई शुभकामना दिए । सोही क्रममा उनले काँग्रेसको पुनर्जागरण अभियान धरानबाटै सुरु भएको उद्घोष गरे ।

तर काँग्रेसले जनतामाझ बाचा गरेका मुद्दाहरु सुनुवाइ गर्न नसक्दा विरोधका स्वरहरू सुनिन थालेका छन् । काँग्रेसलाई मत दिएका मतदाता जुन जोगी आएपनि... भन्न थालेका छन् । परिवर्तनको एजेन्डा बोकेर घरदैलोमा पुगेको काँग्रेसले धराने जनतालाई एकबर्ष सम्म पनि परिवर्तनको कुनै छनक दिलाउन सकेन ।

उता काँग्रेसका नेताहरू भने धरान उपमहानगरको कार्यपालिकामा नेकपाको बहुमत भएकोले काम गर्न नपाएको बताउँछन् । धरान नगर समितिका सचिव श्याम पोखरेल कार्यपालिकामा नेकपाको बहुमत रहेकोले काम गर्न असहज भएको बताउँछन् । २० वडा रहेको धरानमा ५ वडामा मात्र काँग्रेस विजयी भएको भन्दै उनले नेकपाको प्रस्ट बहुमत रहेकोले काँग्रेसका एजेन्डाहरू असफल हुने गरेको उनले बताए ।

कपुरी न्युज सँग कुरा गर्दै उनले भने, “काँग्रेसले जनताको पक्षमा मुद्दा उठाउँदा पनि नेकपाबाट विरोध हुन्छ । हिजो चुनावमा उठाएका एजेन्डा पारित गर्न खोज्दा काँग्रेसले काम गर्‍यो भन्ने हुन्छ भनेर विरोध हुने गर्छ ।”
उनकै भनाइमा आलोचनात्मक समर्थन गर्छन् पूर्व नगर सभापति किशोर राई ।

नेकपाको बहुमतले पेलेर कतिपय अवस्थामा काँग्रेसको मेयरलाई असफल बनाउने प्रयास भइरहेको छ । मेयरले पनि पार्टीमा छलफल गरेर कसरी अगाडी बढ्ने भन्नेबारे निर्णय लिएको भए धेरै काम हुने उनको बुझाई छ ।

हिजो काँग्रेसका कार्यकर्ताले विजयी गराएको स्मरण गराउँदै उनले भने, “पार्टीमा छलफल गरेर काम गर्दा धेरै हदमा सफल भइन्छ । जनताको पक्षमा निर्णय गर्दा नेकपाले विरोध गर्‍यो भनेर पार्टीले प्रचार गर्छ । छलफल र परामर्शले मात्र सफल भइन्छ ।”

राइकै तर्कमा सहमत छन् जिल्ला सचिव सुजेन्द्र तामाङ । निर्वाचित भएपछि पार्टीले बारम्बार सचेत गराउँदा समेत मेयर राईले वास्ता नगरेको उनको भनाइ छ । नेकपाको बहुमतले काम गर्न नदिएको भए पनि काम गर्ने शैलीमा परिवर्तन जरुरी रहेको उनको बुझाई छ ।

हिजो जनता माझ बाचा गरेका कुराहरू पुरा नहुँदा आगामी निर्वाचनमा त्यसको असर पर्ने उनी बताउँछन् । नेकपाको बहुमतले काँग्रेस लोकप्रिय हुने डरले असहयोग गरेको सत्य भए पनि त्यसलाई चिर्न सक्नुपर्ने उनको सुझाव छ ।

पोखरेल, राई र तामाङ कै जस्तो बुझाइ आम कार्यकर्तामा पनि छ । नेकपा बहुमत सदस्यको साथ कार्यपालिकामा रहेकोले मेयरले भनेको काम नहुने गरेको उनीहरू बताउँछन् । तर जनताको स्तरमा मेयरले बोलेको पुरा गरेन भन्ने बुझाई बढ्दै गएको छ ।

काँग्रेस र कम्युनिस्टमा कुनै फरक नभएको स्थानीयले बुझ्न थालेका छन् । अबको डेढ वर्षमा पनि मेयर राईले अरू भन्दा फरक प्रमाणित गर्न सकेनन् भने अगामी निर्वाचनमा यसै भन्न सक्ने अवस्था छैन ।