धरान : धरान उपमहानगरपालिकाको २० वटा वडाको बजेट अव वडाबाटै निकासा हुने भएको छ ।

धरानमा लेखा शाखाको आरम्भ वडा नं १५ को कार्यालयबाट भएको छ । धरानका सबै वडा-वडामा लेखा सञ्चालन भएका छन् ।

बुधवार धरान-१५ को वडा कार्यालयमा सङ्घीय सांसद जयकुमार राईको प्रमुख आतिथ्य, धरानका मेयर तिलक राई उपमेयर मञ्जु भण्डारी सुवेदीको विशिष्ट आतिथ्यमा लेखा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राईले १५ नं वडाका कर्मचारीलाई कार्त्तिक महिनाको तलब राष्ट्रिय वाणिज्य बैङ्कको खातामा हाल्दै कम्प्युटरमा माउस क्लिक गरी चेक प्रिन्ट गरेर उद्घाटन गरेका थिए ।

उपमेयर भण्डारीले स्थानीय सरकारले एकै ठाउँबाट वितरण गरेको बजेट छरिएर वडा वडामा आएको बजेट राम्रो सदुपयोग गरौँ, (कानुनको रीत जनताको हित पनि नछाड्नु) भन्दै खर्चमा बेरुजु तथा अनियमितता नगर्ने र सबै वडाहरूलाई बेरुजु मुक्त धरान बनाउने पहलमा लाग्न अनुरोध गरिन ।

मेयर तिलक राईले मुलुकले सङ्घीयतालाई वित्तीय संस्थागत गर्दे कार्यान्वयनमा ल्याएको गाउँ गाउँमा सिंहदरबार भन्ने नाराले सार्थकता पाएको तथा धराने जनतालाई अनुभूति भएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ (२) मा नगर सभाले स्वीकृत गरेको ७ दिन भित्रमा मेयरले अख्तियारी गरी प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने हुन्छ । प्रशासकीय अधिकृतले अख्तियारी पाएको १५ दिन भित्रमा स्थानीय तहका वडा कार्यालयहरूलाई वितरण गर्नुपर्ने हुन्छ । धरान लेखा शाखा उद्घाटन तथा सञ्चालन गर्नेमा नेपालकै पहिलो रहेको दाबी राईले गरे ।

बजेट वडाबाटै निकासा गर्दा नेपाल सरकारले सूत्र सफ्टवेयरमा आधारित भएर लेखाका सबै खर्च गर्नु पर्ने हुन्छ । स्थानीय तहमा आउँने अडिटहरू अब वडामा जाने गर्छन् ।

धरानका २० वटा वडाहरूमा ८ जना कर्मचारी लेखा प्रणालीमा थप नियुक्ति भएका छन् । ८ कर्मचारीले सबै वडामा भ्याउनेछन् । सबै भन्दा कम बजेट ७६ लाखको रहेको छ । भौगोलिक क्षेत्रका हिसाबले ठुलो तथा धेरै सेवाग्राही भएकाले भएको वडा नं १५ मा वडा मध्येकै धेरै बजेट पनि २ करोड १५ लाख रहेको छ ।

धरान १५ का वडाध्यक्ष नरेश इङ्वारामले वडाहरू मध्यकै धेरै बजेट १५ नं वडा कार्यालयमा रहेकाले धेरै दुरुपयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

Lekha-sakha-udghatan