विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्वस्थ जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताएका छन् ।

उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताए । धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको उनले बताए । मन्त्री घिमिरेले क्यान्सरको शङ्का लाग्न साथ परीक्षण गर्न पनि आग्रह गरे ।

जिल्ला स्तरबाट सेवा सुरु भएको जानकारी स्थानीय स्तर सम्म पुर्याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई मन्त्री घिमिरेले आग्रह गरे । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको बहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेकोमा जोड दिए ।

पालिका स्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उनले बताए । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको बताए । उनले भने,‘ प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रक्रियामा लागेको छ ।’ चालु आर्थिक वर्ष भित्रमा धनकुटा जिल्ला अस्पताललाई १ सय वेडमा स्तरोन्नति गरिने पनि उनले बताए ।

पाठेघरको मुखको नि:शुल्क परीक्षण सुरु गरेकै दिन आज ७ जनाको नमुना सङ्कलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । नमुना सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने पनि उनले बताए । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताए । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक यो सेवा सुरु गरिएको हो ।