झापा : पूर्व राजा ज्ञानेन्द्र शाह यति बेला झापामा छन् । झापा, त्यसमाथि दमक नगरपालिका, दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो ।

देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने ज्ञानेन्द्रको यस पटकको झापा भ्रमणलाई धेरैले चासोका साथ हेरिरहेका पनि छन् । उनी प्रधानमन्त्रीको गृह जिल्लामा यति बेला विभिन्न सामाजिक काममा सक्रिय भएर नागरिकको मन जित्न व्यस्त देखिन्छन् ।

यस बिचमा पूर्व राजाका तर्फबाट २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल र नेपालीलाई शुभकामना सन्देश आएको छ । पूर्व राजा शाहले एक सन्देश जारी गर्दै शुभकामना दिएका छन् ।

उनले दिएको शुभकामनामा निक्कै गम्भीर कुराहरू समेत उल्लेख गरिएको छ । उनले देशप्रतिको चिन्ता र राजनीतिक दलहरूप्रतिको वितृष्णका बारेमा खुलेरै सन्देशमा उल्लेख गरेका छन् ।

शाह वंशीय परम्परा जनचाहना बमोजिम अघि बढेको भन्दै देशको आवश्यकता र जनचाहना हुँदा शाह वंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेनन्, राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारिता देखाएको सन्देशमा जनाइएको छ ।

वर्तमान राजनीति कति इमानदार र राष्ट्र केन्द्रित छ रु कति जनहित अनुकूल छ रु त्यसको समीक्षा गर्न विलम्ब भैसकेको भन्दै वर्तमान राजनीति प्रति पूर्व राजा शाहले असन्तुष्टि जनाएका छन् ।

परिवर्तनको नाममा आफ्नो इतिहास, धर्म, सभ्यता, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्न अवाञ्छित क्रियाकलाप भित्रिएको प्रति पनि पूर्व राजा शाहले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

हाल पूर्व राजा शाह रानी कोमल, युवराज्ञी हिमानी, नवयुवराज हृदयेन्द्र सहित पूर्वी नेपालको भ्रमणमा छन् ।

झापाको दमक स्थित हिमालय गुडरिकमा रहेको दरबारमा बसिरहेको पूर्व राजपरिवारले पूर्वका विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने तथा सर्वसाधारण जनतासँग दर्शनभेट गर्ने कार्यक्रम रहेको छ ।

Gynendra-Sandesh