धरान : कोरोना परीक्षण घटाइएको भनिरहँदा सुनसरीको धरान र इटहरीमा भने चाँडो कोरोना सङ्क्रमण पत्ता लगाउने रिएन्टीजेन्टबाट कोरोना परीक्षण सुरु भएको छ ।

नेपाल सरकारले पछिल्लो समय पिसिआर परीक्षण गर्दा धेरै समय लाग्ने भन्दै चाँडो परिणाम दिने रिएन्टीजेन्ट प्रविधिबाट कोरोना परीक्षण सुरु गरेसँगै सुनसरीको धरान र इटहरीमा पनि परीक्षण सुरु गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्थानीय निकाय धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको संयोजनमा आज धरान १ को पुरानो अस्पतालमा रिएन्टीजेन्टबाट नि:शुल्क कोरोना परीक्षण भइरहेको छ ।

धरान उपमहानगरपालिकाले १ हजार जनाको परीक्षण समुदाय स्तरमै पुगेर परीक्षण गर्ने तयारी गरेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार आज पहिलो दिन १ सय ५० जनाको निःशुल्क कोरोना परीक्षण हुनेछ । आज पहिलो दिन समुदायमा अग्रपंत्तीमा खटिएका मानिसहरूको परीक्षण गरिँदै छ ।

विगतमा आरडिटी र पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएकोमा पछिल्लो समय सही र चाडै नतिजा दिने रिएन्टीजेन्ट विधिबाट कोरोना परीक्षण देशै भरी गर्ने सरकारले सुरु गरेको छ ।

Reagent-Test-1

जस अनुसार सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा परीक्षण सुरु भएको स्वास्थ्य कार्यालय सुनसरीका सिआईसिटीका सहजकर्ता मनिष सुबेदीले बताए । उनका अनुसार हिजो पहिलो दिन इटहरीमा ८ जनाको रिएन्टीजेन्टबाट कोरोना परीक्षण गरिएको थियो भने आज पनि इटहरीमा परीक्षण जारी रहेको छ ।

यसरी कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको अवस्थामा सङ्क्रमितलाई होम आइसोलेसनमा राख्ने र उसको स्वास्थ्य अवस्था हेरेर अस्पताल भर्ना गर्ने र सङ्क्रमितहरूको कन्ट्रयाक् ट्रेसिङ गरेर तुरुन्त परीक्षण गर्ने स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।