इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को औपचारिक विभाजन बाँकी रहँदै स्थानीय युवा नेताबिच तल्लो स्तरको अभद्र व्यवहार प्रदर्शन हुन थालेको छ ।

सामाजिक सञ्जालमा एक आपसमा आरोप लगाउने देखी सडकमै उत्रिएर असभ्य गाली गर्ने काममा युवाहरूमा प्रतिश्पर्धा देखिन थालेको छ । केन्द्रीय नेता तथा नेतृत्वमा देखिएको आरोप र लाञ्क्षनाको शृङ्खला तल्लो स्तरसम्मै पुगेको देखिएको छ ।

पौष २६ गते आइतबार इटहरीमा प्रचण्ड-नेपाल समूहले विरोध कार्यक्रमको आयोजना गर्‍यो । २०६२/६३ को जनआन्दोलन ताका केपी शर्मा ओलीले नेपालमा 'गणतन्त्र आउने कुरा बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो' भनेको स्मरण गराउँदै बयलगाडा यात्रा भयो । बलयगाडामा ओलीको फोटो राखेर गणतन्त्र यात्रा लेखेको ब्यानर सहित युवाहरूले प्रदर्शन गरे ।

ओलीको प्रतिगमन यात्रा विरुद्धको कार्यक्रममा प्रचण्ड नेपाल समूहका युवाहरूले ओली इतिहासकै गद्दार नेता भएको आरोप लगाए । दशैभर भएको प्रदर्शनमा ओली विरुद्ध प्रचण्ड-नेपाल समूहका युवाहरू खरो रूपमा उत्रिएका थिए । सार्वजनिक समारोहमा बोल्न मिल्ने जति गाली गरेर ओलीको आलोचना गर्न कसैले बाँकी राखेनन् ।

त्यसैको बदलामा सोमबार साँझ मोरङको सुन्दरहरैचामा ओली पक्षीय युवाहरूले भैँसी पूजा गरे । माधव नेपाल युनिफीकेसन चर्च सम्बद्ध भएको र प्रचण्डले सुनसरीको चतरामा भैँसी पूजा गरेको दृष्टान्त सम्झाउँदै भैँसी पूजा गरेका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री भएको बखत विवादास्पद सिद्धबाबाको आश्रम चतरामा भैँसी पूजा गरेका थिए । प्रचण्ड र नेपाल दुवैको बुद्धि भैँसीको भन्दा कमजोर भएको भन्दै भैँसी पूजा गरेका हुन् । उनीहरूको सदवुद्धीको कामना गर्दै उनीहरूले पूजा गरेका हुन् ।

स्थानीय स्तरमा भएका समूहगत भेलामा एक अर्काको तल्लो स्तरको आलोचना गर्ने काम भइरहेका छन् । ओलीको सनकले देश बर्बाद भएको देखी दशबर्षे जनयुद्ध धोखा भएको सम्म आरोप लाग्ने गरेका छन् ।