धरान : नेकपा ओली समूहले सूर्य चिन्ह आफ्नै पार्टीले पाउने र निर्वाचन जित्ने दाबी गरेका छन् ।

आज धरानमा युवा सङ्घ सुनसरीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्यहरूले निर्वाचन पछि पनि सूर्य चिन्ह सहित जनता माझ गएर ओलीकै नेतृत्वमा सरकार बन्ने जिकिर गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश एकका आन्तरिक मामिला एवं कानुन मन्त्री हिक्मत कुमार कार्कीले ओली नेतृत्वको नेकपा नै मूल पार्टी रहेको भन्दै जनतामा रहेको भ्रम चिर्न कार्यकर्तालाई आव्हान गरे ।

‘जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै हिजो सूर्य चिन्ह लिएर चुनावी मैदानमा जाँदा मात्र एमालेले जनताको साथ पाएको थियो ।’ कार्कीले भने ‘ओलीले नेतृत्व गर्दा देखिएको जनताको साथ नै अहिलेको मेन स्टिमको पार्टी हो । ढुक्क हुनुस् पुनः ओली कै नेतृत्वमा सरकार बन्छ । ’

उनले प्रचण्डलाई सूर्य चिन्हको दाबी गर्ने कुनै हक नभएको भन्दै उनको दाबी हास्यास्पद रहेको जिकिर गरे । ‘हिजो चितवनमा देवी ज्ञवालीलाई हराउन काँग्रेसका साथीहरूसँग जोडिएर जानु भयो । त्यति बेला सूर्यको लोभ भएन । अहिले सूर्य नभई हुँदैन भनेर माइतीघर मण्डलामा धर्ना बस्नुहुन्छ । यो कस्तो प्रेम हो रु ’ उनले प्रश्न गरे ।

यता नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले ओली र माधव नेपालको बहुलट्टीपनले पार्टी भित्र सङ्कट आएको भन्दै ओलीले बाध्यात्मक अवस्थामा संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुपरेको जिकिर गरे ।

उनले प्रचण्ड–नेपालका कार्यकर्ता पनि केही दिनमा मुख्य पार्टीमै फर्किने ठोकुवा गर्दै भने – ‘वहाँहरू केही दिन प्रचण्ड जीको पछि लाग्नुहोला । तर, वहाँलाई चिने पछि साथीहरू फर्किनुहुन्छ ।’

दुइतिहाइ नजिकको सरकारलाई आफ्नै दल भित्रका नेताहरूले काम गर्न नदिएको भन्दै ओलीले बाध्यात्मक अवस्थामा संसद् भङ्ग गरी जनादेशमा जाने निर्णय लिएको कार्यक्रमका वक्ताहरूले जिकिर गरे ।

संविधानमा संसद् भङ्ग गर्ने अधिकार सुनिश्चित रहेको भन्दै संविधानले दिशानिर्देश गरेरै नयाँ जनादेशमा जाने निर्णय भएको नेताहरूको निचोड थियो । नेताहरूले चुनावमा हार्ने डरले निर्वाचनको विरोध गरेका र जनताले ओलीलाई नै पुनः निर्वाचित गरी कार्यकारी अधिकार दिनेमा ढुक्क रहेको नेताहरूले जोड दिए ।

कार्यक्रममा सुनसरीका विभिन्न स्थानबाट नेकपा ओली सम्बद्ध युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि पब्लिक हाइस्कुलको खेलमैदानबाट निस्किएको जुलुसले नगर परिक्रमा गरी र्‍याली कार्यक्रम स्थल चुम्लुङ भवनमा पुगेको थियो ।

Nekapa-oli Nekapa-oli-1