इटहरी : बाक्लो हुस्सु लागेर चिसो बढेसँगै इटहरी उपमहानगरले आगो बालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । 

आज इटहरीका विपन्न बस्तीहरूमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । विपन्न बस्तीहरूका साथै इटहरी चौक आसपास मान्छेहरू धेरै भेला हुने ठाउँमा दाउरा वितरण गरिएको हो ।

विपन्न मुसहर बस्तीहरूमा भोलि देखि कम्बल वितरण गरिने उपमेयर गौतमले बताइन् । बाक्लो हुस्सु लागे पछि चिसोले जनजीवन प्रभावित भएको छ । बजारमा चहल पहल कम देखिन्छ ।

ज्येष्ठ नागरिक बालबालिका र श्रमिक वर्ग बढी प्रभावित भएका छन् । हुस्सु र शीतका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान चिकित्सकले सल्लाह दिएका छन् ।