विराटनगर : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संविधान र संसदीय व्यवस्था फेल भएको बताएका छन् ।

मोरङको बेलबारी स्थित लक्ष्मी मार्गमा शुक्रवार पत्रकार सम्मेलन गरी उनले नेपालको संसद् विघटन, अमेरिकी संसद्मा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’भइसकेको बताए ।

वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर समेत गरे । उनले प्रतिनिधिसभा पुनर्स्थापना जनताको अहितमा हुने पनि बताए । उनले भने,‘ संसद् पुनर्स्थापना जनतालाई धोका दिने विषय मात्रै हो ।’ पुनर्स्थापित सांसदले जनताको आकांक्षालाई पूरा नगर्ने र जनजीविकालाई सम्बोधन नगर्ने उनले बताए ।

वैद्यले घोषित आम निर्वाचन पनि जनताको पक्षमा नहुने बताए । ‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उनले भने , ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन ।’

निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नु पर्नेमा वैद्यको जोड छ । संसदीय व्यवस्था र घिनलाग्दो राजनीति छाडेर जनगणतन्त्रको बाटोमा अघि बढ्नका लागि सबैमा उनले आग्रह गरे ।

नेता वैद्यले साना र क्रान्तिकारी शक्तिसँग कार्यगत एवं पार्टीगत एकता तथा तालमेल गरेर अघि बढ्ने योजनामा आफूहरू रहेको सुनाए । असहमति रहेका विषयमा सहमति जुटेमा नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि पार्टी एकता हुने उनको भनाइ छ ।

पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन सम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको वैद्यले बताए ।