धरान : हाल देशमा बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको कारण प्रदेश १ मा मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ । पूर्वी तराईमा आज बाक्लो हुस्सु लागेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू भागमा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरूमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शनिवार)
दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदूर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश का भू-भागहरूमा साथै सुदूर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।