इटहरी : सुनसरीको कोशी गाउँपालिकामा कोशी महोत्सव सुरु भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवको आइतबार उद्घाटन भएको छ । कोसी टप्पु आरक्षको गेटमै आयोजित महोत्सवमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता लाई मुख्य आकर्षण बनाइएको छ ।

५ दिन सम्म चल्ने महोत्सवमा दुइ दिन कुस्ती र ३ दिन दङ्गल हुने कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । कोरोनाले थलिएको पर्यटन व्यवसायलाई जागृत गराउन महोत्सव आयोजना गरिएको उनको भनाई छ । महोत्सवको लागी कोशी गाउँपालिकाको १२ लाख खर्च हुने अनुमान गरिएको छ ।

बीपी स्मृति कुस्ती प्रतियोगिताले सबैको ध्यान खिचेको अध्यक्ष अन्सारीले बताए । ३ वर्षदेखि जारी महोत्सवमा यस पटक भने कुनै नयाँ कार्यक्रम आयोजना भएका छैनन् । कोसी टप्पुको महत्त्व बुझाउन हात्ती सफारी गर्ने देखी बाहेक अरू कार्यक्रम गर्न नसकिएको अध्यक्ष अन्सारीले बताए ।

अघिल्लो वर्ष चराको फोटो प्रदर्शनी गरेको स्मरण गर्दै उनले आगामी वर्ष नयाँ र रचनात्मक कार्यक्रम गरिने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा विभिन्न पालिकाका मेयर तथा अध्यक्षको उपस्थिति रहेको थियो ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले बीपी कोइरालाको बिचार काँग्रेसको मार्गदर्शक सिद्धान्त भएको बताए । बीपीको स्मृतिमा कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उनले अहिलेको पुस्ताले बिपीको बिचारलाई अनुसरण गर्नुपर्ने तर्क राखे ।

कोशी टप्पु वन्यजन्तु आरक्ष एक विशाल सम्भावनाको क्षेत्र भएकोले यसलाई थप व्यवस्थित बनाउन आफूहरू लागिपर्ने उनले बताए ।

वन्यजन्तुको आक्रमण बाट स्थानीयलाई बचाउन घेराबाराको काम आफ्नै पहलमा हुन लागेको उनले पनि उनले बताए । जसको लागी आइतबारै १ करोड बराबरको टेन्डर आह्वान भएको छ ।