झापा : एडभान्स अस्पताल दमकले आज मोरङको रतुवामाई नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर ९ को भौडाहामा स्वास्थ्य शिविरमा स्थानीय ३ सय जना नागरिकलाई सेवा प्रदान गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।

शिविरमा अस्पतालका बाल रोग विशेषज्ञ डा. अनिल थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अनुपा पोखरेल, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. निमा शेर्पा, सर्जन डा. रविनरत्न रञ्जितकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गरिमा भण्डारी लगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।

स्थानीय सामूहिक हातहरूको समूह(साहास) को स्थानीय व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा भिडियो एक्स-रे तथा सुगर जाँच समेत गरिएको थियो । त्यसै गरी औषधि समेत निःशुल्क वितरण गरिएको साहासका सदस्य मिलन बरालले बताए ।

सामूहिक हातहरूको समूहका अध्यक्ष धनप्रसाद दाहालको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा अस्पतालका सञ्चालन तथा दमक क्याम्पसका पूर्व प्रमुख उत्तम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

ग्रामीण क्षेत्रका नागरिकहरूको घरमै पुगेर विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख अतिथि तथा अस्पतालका सञ्चालक भट्टराईले बताए ।