इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको कारण प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी भएको बताएका छन् ।

आइतबार विहान प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले काँग्रेसले संविधान बचाउने अभियानमा लाग्नुपर्ने बताए ।

पार्टी सभापतिलाई आफूले प्रस्ट रूपमा यो असंवैधानिक कदमको विरुद्धमा लागौँ भन्दा अदालतको निर्णय पर्खिने भन्दै टार्न थाल्नु भएको उनको भनाइ छ ।

केन्द्रीय समितिको बैठकमा पार्टीले अलोकतान्त्रिक र असंवैधानिक भन्दा भन्दै संसद् पुनर्स्थापना गर्नुपर्ने माग राखेको थिए । संवैधानिक परिषद्को नियुक्ति खारेज गर्नुपर्थ्यो भन्दै उनले भने, ओम्नि देखि बुढिगन्डकीको नाममा अरबौंको भ्रष्टाचार भएको छ ।

प्रदेश सरकारमा आएको अविश्वास प्रस्तावको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ भने तर सभापति बाट उत्तर नपाएको नेता पौडेलले बताए ।

आफू सांसद नभएको स्मरण गराउँदै उनले भने, “संसद् पुनर्स्थापना भए मलाई केही फाइदा हुँदैन तर संविधान र लोकतन्त्र बच्न सक्छ ।“

काँग्रेस अदालतमा बहसमा भएको विषयमा बोल्नु हुँदैन भन्ने र प्रधानमन्त्री अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको आभास हुने उनले बताए । “अदालतलाई हामीले भन्नुपर्छ संविधान हेरेर न्याय पाउँ श्रीमान् , उनले भने मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्नु हुँदैन “

काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले यसको प्रतिवाद गर्नुपर्ने भन्दै पैसाको अभावमा आन्दोलन नरोकिने बताए । पैसा हैन बिचारले आन्दोलन गर्ने भन्दै उनले पार्टी सभापतिले बेतुकको कुरा गरेको बताए ।