विराटनगर : प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो बस्दै छ ।

सरकारको अवरोधका कारण दुई पटक अवरुद्ध भएको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेबल गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । प्रदेश १ सरकारले भने बैठक अवरुद्ध गर्ने योजना बनाएको छ ।

यस अघिका दुई बैठकमा सरकार पक्षका कारण छलफल हुन पाएको थिएन । आजको बैठक पनि अवरुद्ध गर्ने नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

उनले दल विभाजनले आधिकारिता नपाए सम्म बैठक अवरुद्ध गर्ने बताए । २५ गते ६ जना माननीयले उठेर बैठक अवरुद्ध गरेको हो,’ उनले भने ‘ आज पनि बैठक अवरुद्ध गर्छौँ, पार्टी विभाजनले वैधानिकता नपाएसम्म संसद् चल्दैन ।’ यस अघि २५ माघको बैठकमा अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

तर सत्तारुढ नेकपा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आज सम्मका लागि बैठक स्थगित गरेका थिए । ‘बैठक सञ्चालन गर्ने भए पार्टी दुई वटा हुन पर्‍यो, होइन भने कारबाहीमा परेका १६ जनालाई प्रवेश गर्न दिनु भएन,’ राजभण्डारीले भने ‘ बैठक सञ्चालन गर्न खोजिए हामी अवरुद्ध गर्छौँ ।’

नेकपा प्रचण्ड–माधव समूहले बैठक सञ्चालन गर्नुपर्ने बताएको छ । आजको बैठकमा अविश्वासको प्रस्ताव टेबल गरेर प्रक्रियामा अघि लैजानुपर्ने नेकपा प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले बताए । ‘समय पाउँदा सरकारले छलफलको कुनै सार्थक पहल गरेन,’ उनले भने ‘आजको बैठकमा अविश्वासको प्रस्ताव टेबल हुनुपर्छ र नियमित प्रक्रियामा अघि बढ्नुपर्छ ।’

उनका अनुसार दुई साताको समय पाउँदा सरकार पक्षले दलहरूसँग सहमतिका लागि सार्थक पहल नै गरेन । नेपाली काँग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले कुनै समूहले सदन अवरुद्ध गर्न नमिल्ने बताए ।

उनले आजको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराएर छलफल अघि बढाउनु पर्ने बताए । ‘नेपाली काँग्रेस सदन सञ्चालनको पक्षमा छ,’ उनले भने ‘ संसद्लाई सधैँ अवरोध गर्न पाइन्न ।’