झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२-६३ को जनआन्दोलन पछि प्राप्त पछिल्लो राजनीतिक उपलब्धिलाई वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर थप अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले नेपालको सङ्घीय संरचना नै गलत भएको टिप्पणी गरे । छँदाछँदैको संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न ओली उद्धत भएको थापाको आरोप छ । यद्यपि यसलाई अवसरको रूपमा दलहरूले लिन सक्नुपर्ने उनले बताए । यस्तै अध्यक्ष थापाले सर्वोच्च अदालतको निर्णय आफ्नो पार्टीलाई मान्य हुने प्रतिक्रिया दिए ।

मिडिया नेपालद्वारा आज (आइतबार) झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले वर्तमान सङ्कटको निकास भनेकै अब निर्वाचन नै भएको जिकिर गरे । यदि सरकारले तोकेको मितिमा निर्वाचन हुन नसके मुलुक थप अस्थिरता तर्फ धकेलिने उनको भनाइ थियो ।

राजसंस्था र हिन्दु राष्ट्रको विषयमा आफूहरूले पहिलादेखी नै जनमत सङ्ग्रहको माग गरेको पनि उनले बताए । उनले राजसंस्था र आफ्नो पार्टीका बिच राजनीतिक सम्बन्ध रहेको खुलासा गरे ।

२०६२–६३ को जनआन्दोलनपछि काँग्रेस र तत्कालीन नेकपा एमाले र ऐनेकपा माओवादीले राजसंस्थासँगको सम्बन्ध नै विच्छेद्य गरिसकेको भए पनि आफूहरूको सम्बन्ध पहिला जस्तो थियो अहिले पनि उस्तै नै रहेको उनले सुनाए ।

अध्यक्ष थापाले प्रधानमन्त्रीको गृहनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न जनमत सङ्ग्रहमा जानुको विकल्प नभएको र यदि त्यसो पनि नभए आफूहरू कडा आन्दोलनमा उत्रने थापाले उद्घोष गरे ।