धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. गुरु प्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खोलेका छन् ।
आज समाजका साथ प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर साह गरी चारै पदाधिकारीहरू बिच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो ।
वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिना भित्र प्रमोसनको विज्ञापन प्रकाशित गर्ने सहमति कायम भएको छ । यस्तै, जोखिम भत्ता फाल्गुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरूका सम्बन्धमा एक हप्ता भित्र तार्किक निष्कर्षमा पुग्ने गरी कार्य गर्ने समेत सहमति भएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. खनाल प्रतिष्ठानका चिकित्सकहरूको बढुवा प्रक्रिया लगायत अन्य कार्यको लागी काठमाडौँ पुगेका थिए । वार्तामा सहमति भएपछि हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता गरिएको समाजका अध्यक्ष डा। विष्णु पोखरेलले जानकारी गराए ।
अन्य मागहरू एक सातामा पूरा गर्ने सहमति भएपछि काम गर्नका लागी ऊर्जा मिलेको उनले बताए । सहमति पत्रमा प्रतिष्ठानका चारै जना पदाधिकारीले हस्ताक्षर गरेका छन् भने समाजका तर्फबाट अध्यक्ष सहित महासचिव सूर्य प्रसाद रिमाल, सहसचिव सन्दीप साह, कोषाध्यक्ष अन्जनि कुमार यादव, सदस्य मनोज भट्टराई, निर्मल प्रसाद साह र लक्ष्मण खनालले हस्ताक्षर गरेका छन् ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved