धरान : सुनसरी प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको ‘क्लियर सुनसरी’ नामक स्विप अप्रेसन सफल भएको सुनसरी प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार धेरैलागुऔषध प्रयोगकर्ता र कारोबारी बनेका नेपाली नागरिकलाई लागुऔषध सहित पक्राउ गरे पनि अनुसन्धान गर्दा कनेक्सन भारतमै देखिएको छ। सीमावर्तीको दशगजामा लागुऔषध ओसार पसारका लागि 'ट्रान्जिट पोइन्ट' बन्दै आएको उनको बुझाई छ ।

प्रहरी प्रमुख थापा भन्छन् 'नेपाली नागरिकलाई लागुऔषध सहित पक्राउ गरेर अनुसन्धान गर्दा केही मात्र प्रयोगकर्ता हुन्छन् तर, धेरैले कारोबार मात्र गरेका छन् । जसमा कारोबारी र प्रयोगकर्ताको कनेक्सन भारतमै देखिएको छ । हामी पक्राउ परेका मानिसहरूलाई प्रहरी हिरासतबाट नै डिल गर्न लगाउँछौ ।'

यही क्रममा सशस्त्र प्रहरी बलले बक्लौरी बस्ने २१ वर्षीय सञ्जय कुमार चौधरीलाई ठुलो मात्रामा लागुऔषध सहित पक्राउ गरी सुनसरी प्रहरीमा जिम्मा लगाएको थियो । अनुसन्धानको जिम्मा सुनसरीका इन्स्पेक्टर सरोज खनाललाई दिएको थियो । उनले अनुसन्धानमा कनेक्सन पत्ता लगाउन धेरै प्रयत्न गरे ।

चौधरीले कुनै कुरा बोल्न मानेनन् । चौधरीले ढाँट्दै भने 'भुईँमा फालेको झोलामा लागुऔषध भेटेको बताएका थिए । खनालले चौधरीको फोन चेक गर्दा लागुऔषध भेटेको झोलाको तस्बिर र भारतीय नम्बर देखे । उनलाई अनेक बहाना बनाई लागुऔषधको डिल गर्न प्रहरीलेनै लगाएका थिए ।

त्यसपछि सीमा क्षेत्र सम्म पुगेर प्रहरीले लागुऔषध लिएर भारत विहार राज्य अररिया जिल्लाको बेल ग्राम पञ्चायत ८ बस्ने १९ वर्षीय रवीन्द्र कुमार यादव र सोही स्थान बस्ने अर्का २० वर्षीय कालिचरण चौपाललाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

भारतबाट उनीहरूले ल्याएको लागुऔषध डाइलक्स डिसी १०० एम एल लेखिएको ८८ बोतल, स्पामोप्रोक्सीभान प्लस २४ क्याप्सुल दरको १९ पत्ता ४ सय ५६ थान र नाइट्रोजन १० लेखिएको ३६ ट्याब्लेट सहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरी अदालतबाट लागूऔषध मुद्दामा यादव र चौपाल ४ दिन र चौधरीलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरूको भारतमा निकै ठुलो कनेक्सन रहेको प्रहरीको अनुमान छ ।