झापा : झापाको दमकमा सातौँ दमक फुड फेस्टिभल २०७७ हुने भएको छ ।

होटेल व्यवसायी सङ्घ दमकको आयोजनामा यसबर्ष पनि फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा दमक फुड फेस्टिभल फूडफेस्टिबलको आयोजना गरिएको सङ्घले जनाएको छ।

दमक क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि आन्तरिक, धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरी दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक भूपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।

महोत्सवमा दैनिक उपभोग्य बस्तु तथा सेवाहरूको प्रदर्शनी तथा खरिद बिक्री, चिया प्रदर्शनी, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा दैनिक साङ्गीतिक कार्यक्रम, स्थानीय भेषभुषा झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको खानाको परिकारहरूको स्टलहरू रहने आयोजकले जनाएको छ । कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न भूपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

जसमा भूपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार,गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधीर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्जु व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मूल समितिका अतिरिक्त उपसमितिहरूले आ-आफ्नो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका सङ्घका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिभलमा करिब एक लाख अवलोकनकर्ताहरू आउने र करिब ५० लाख बराबरको व्यावसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।

फेस्टिभल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने छ भने प्रवेश शुल्क १ सय रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ ।