धरान : सरकारले दोस्रो प्राथमिकताको सुचीमा परेकाहरूका लागि दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम अन्तर्गत आज फेरि धरानमा दोस्रो पटक एक दिन खोप लगाउने समय थपिएको छ ।

धरान उपमहानगरपालिकाका १६ सय जनालाई लक्षित गरिएकोमा अहिले सम्म धरानमा तोकिएको ३ दिन र थप एक दिन गरी ४ दिनमा जम्मा ६९० जनाले मात्रै कोरोना विरुद्धको खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा आज थप भएको कोरोना विरुद्धको खोप कार्यक्रममा नेपाली सेनाको पनि सहभागिता हुने बताइएको छ । धरानमा अत्यन्तै कम मात्रै खोप लगाउनेहरू सहभागी भएका छन् ।

यसो हुनुको मुख्य कारण उपमहानगरका अगुवाहरूले नै खोप नलगाएपछि खोप अभियान प्रभावकारी हुन नसकेको बताइन्छ ।

धरानमा पहिलो चरणमा छुटेकाहरूले खोप लगाएको भए पनि दोस्रो प्राथमिकतामा परेकाहरू सञ्चारकर्मी र जनप्रतिनिधि नै अत्यन्तै कमै मात्र सहभागी भएका छन् ।

यसो हुनुको मुख्य कारण खोपबाट विभिन्न साईडइफेक्टहरु भए भनेर सामाजिक सञ्जालमा अफवाह फैलिनुले भएको महाशाखा प्रमुख मेहेताले बताए ।

आज पनि धरानको छाताचौकमा रहेको पुरानो अस्पतालमा बिहान १० बजे देखि ४ बजे सम्म खोप अभियान सञ्चालन हुदैछ ।