झापा :  झापाको बिर्तामोड नगरपालिकाले नगरक्षेत्रका व्यावसायिक कृषकहरूलाई सङ्गठित गरेको छ ।
फाल्गुण १० गते बिर्तामोड नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरका व्यावसायिक कृषकहरूलाई भेला गरी नगर स्तरीय कृषक समूह निर्माण गरेको छ ।

बिर्तामोड नगरपालिका भित्रका कृषकहरूलाई वडागत तहमा समूह निर्माण गरी तिनै समूहबाट प्राप्त प्रतिनिधिबाट नगरस्तरीय कृषक समूह निर्माण गरेको छ । समूहले कृषकका समस्या र चुनौतीको सामना गर्नकालागि कृषकहरूलाई सहयोग गर्ने जनाइएको छ ।

कृषि विकास शाखाले नगरका १० वटै वडाका ५९ जना व्यावसायिक कृषकहरूको सहभागिता रहने गरी कृषक समूह निर्माण गरेको हो । बिर्तामोड नगरपालिका वडा नं. ९ का कृषक युवराज चिमोरियाले बिर्तामोड नगरपालिकाले गरेको कार्यको प्रशंसा गर्दै कृषि र कृषकहरूको संरक्षणमा लागि पर्ने बताए ।

आफूले विभिन्न जातका तरकारीहरू लगाएको र हाल बजार मूल्य पनि राम्रै पाएको बताउँदै आफ्नो वारी वाट टमाटर, ब्रो-काउली लगायतका तरकारीहरू नियमित विर्तावजार र कृषि थोकमा बिक्री गर्ने गरेको जानकारी दिए ।

नगरपालिकाले कृषकमुखी कार्यक्रमको आयोजना गरेर कृषकहरूको व्यावसायिक यात्रालाई सहज बनाउँदै लाने योजनामा नगर लागेको बताउँदै बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले कृषकका लागि आवश्यक योजना तथा कार्यक्रमहरू नयाँ वनेको कृषक समूहबाट तय गरेर अगाडि बढ्न सकिने बताए ।

कृषकहरूलाई व्यावसायिक बनाउँदै नगरको संवृद्धि सँगै विकासको लक्षमा नगर अगाडि बढेको बताउँदै नगर उप प्रमुख पवित्रादेवी महतरा प्रसाईँले नगरका कृषि विकासका कार्यक्रममा कृषकको सहभागिता सकारात्मक रहेको बताइन । कृषकहरूलाई आवश्यक पर्ने प्रविधि, मल बीउ र प्राविधिक सहयोग सर्वसुलभ बनाउन नगरको ध्यानआकर्षण भएको बताउँदै अबको बाटो कृषकको समृद्धिका लागि तय भएको उप प्रमुख प्रसाईँले बताइन ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटी कृषकहरूले सुरुवात गरेको सङ्गठनको अभियानले नगरको ठुलो समस्या हल गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले कृषकहरूले तरकारी खेती सँग सँगै माछा पालन गर्न पनि जरुरी रहेको र माछा पालन गर्दा माछा पोखरीको पानी वाट तरकारी उत्पादनलाई सहयोग मात्र गर्दैन विषादी न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले कृषकहरूलाई निमको खेती गर्न अनुरोध गर्दै बृहत् रूपमा निम खेती गर्न सके बजारको कुनै समस्या नहुने समेत बताए ।

नगर प्रमुख सिवाकोटीले कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाले जनप्रतिनिधिको सोच भन्दा पनि प्रभावकारी योजना तथा कार्यक्रम बनाएर नगरको समृद्धिकालागि खेलेको भूमिका प्रति खुलेरै प्रशंसा गरे ।