धरान : धरान–१७ को सर्दु खोलामा नदीजन्य सामाग्री उत्खनन रोक्न पुगेका हर्क साम्पाङ पक्षका ५ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इनरुवामा पठाएको छ ।

हिजो दिउसो धरान उपमहानगरपालिकाले ठेक्का लगाएको खोला उत्खनन रोक्न पुगेको बेलामा ठेकेदार पक्ष र हर्क साम्पाङ नेतृत्वको टोली बिच झडप भएको थियो । सोही क्रममा पक्राउ परेका गीता राई, सोमला राई, मिलन राई, राजेश राई र क्षितिज थापालाई जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

नदी उत्खनन रोक्न पुगेका हर्क साम्पाङको टोलीले स्काभेटरका चालकलाई चाबी खोसेर कुटपिट गर्न थाले पछि झडप भएको बताइएको छ । स्काभेटरको चालक माथि हातपात भए पछि मजदुरहरूको समूहले साम्पाङ पक्षकालाई हातपात गरेका थिए ।

सो क्रममा केही व्यक्ति घाइते भएका थिए । साम्पाङ पक्षका राजेश राई अलि बढी घाइते भएका थिए । साम्पाङ पक्षका ७ जनालाई हिजो साँझ प्रहरीले नियन्त्रणमा लिए पनि २ जनालाई राति नै सामान्य सोधपुछ पछि छाडेको थियो भने बाँकी ५ जनालाई भने जिल्ला प्रहरी कार्यालय पठाइएको हो ।

हिजोको झडपलाई लिएर पीडित पक्षबाट प्रहरीमा उजुरी परेको छ । यस भन्दा अघि देखि प्रहरीको खोजीको सुचीमा रहेका हर्क साम्पाङ भने फरार भएको प्रहरीले जनाएको छ । उनी सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहेर विभिन्न स्टाटसहरु लेखिरहेको भए पनि उनको मोबाइल स्विच अफ रहेको छ ।

उनलाई भने प्रहरीले खोजी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । साम्पाङ पक्षले भने आफूहरूलाई ठेकेदारले गुन्डा लगाएको आरोप लगाउँदै आएका छन् ।