धरान : सङ्खुवासभाको मादी सामूहिक हत्या प्रकरणमा मा नेपाल प्रहरीको पूर्ण शक्ति परिचालन भएको छ ।

गएको सोमबार घटेको सामूहिक हत्या प्रकरण आज सम्म ४ दिन बित्दा समेत प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले भने अनुसन्धान सकारात्मक उन्मुख अघि बढिरहेको बताएको छ ।

सोमबार देखि घटना स्थलमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा विशेष प्रहरी टोली सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली सहित अहिले प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी समेत घटनास्थलमा पुगेका छन् । यसलाई हेर्ने हो भने घटनास्थलमा नेपाल प्रहरीको पूर्ण शक्ति परिचालन भएको देखिन्छ।

यत्तिका प्रहरी परिचालन भएर पनि घटना घटेको चार दिन सम्ममा पनि अपराधी पक्राउ भने प्रहरीले गर्न सकेको छैन । केही 'क्लु' पत्ता लागेको प्रहरी स्रोतले बताएको भए पनि यस विषयमा भने अनुसन्धानमा खटेका प्रहरीले भने केही खुलाएको छैन ।

सोमबार देखि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको विशेष टोली घटना स्थलमा अनुसन्धानमा लागिरहेको भए पनि अहिले सम्म हत्याको कारण र हत्यारा फेला नपर्नुले सर्वसाधारणमा त्रास देखिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए ।

तर उनी भन्छन् -'सर्वसाधारण त्रसित नहुनुहोस्, यो कुनै डकैती शैलीको हत्या जस्तो नदेखिएकोले के कारणले यस्तो घटना घट्यो ? यसबारेमा अनुसन्धानमा सघाउनुस् । अपराधीलाई कारर्बाहीको दायरामा ल्याउन सबै लागौँ ।