धरान : कोरोना महामारीका कारण नेपालमा लामो समयदेखि रोकिएका हङकङ परिचयपत्र बाहक नेपाली हङकङ फर्किन पाउने भएका छन् ।

हङकङ सरकारले नेपाल कोरोनाको अति जोखिमयुक्त मुलुकको श्रेणीमा राखेर हवाई यात्रा बन्द गरिदिएपछि हङकङ परिचयपत्र वाहक (हङकङ आइडी) नेपालीहरू नेपालमै अड्किएका थिए । हङकङले गत मे महिना देखि नेपाली हवाई उडान बन्द गरेको थियो ।

हङकङ नेपाली महासङ्घका निवर्तमान अध्यक्ष तथा नेप्लीज सर्भिस सेन्टरका इन्चार्ज रिता गुरुङका अनुसार शुक्रवार हङकङ सरकारको फुड एण्ड हेल्थ ब्युरो इस्ट वीङ सेन्ट्रल गभरमेन्ट अफिसमा भएको छलफलपछि हङकङ आइडी वाहकलाई आउन दिने जानकारी दिएको हो । यसअघि नेपालमा कोरोना विरुद्धको खोप लगाए पनि हङकङ सरकारले मान्यता दिएको थिएन ।

उनले भनिन्, ‘कोरोना महामारी सुरु भएपछि पनि हङकङमा भ्याक्सिन लगाउन नपाई पारिवारिक, व्यावसायिक कारणले नेपाल गएकाहरूलाई फर्काउनका लागि महासङ्घले हङकङ सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएका थियौँ ।

सरकारका सांसदहरुसंग छलफल र अन्तरक्रिया गर्दै आएका थियौँ । त्यसको परिणाम हङकङ सरकारले हाम्रो कुरा सुन्यो र नेपालमै भ्याक्सिन लगाएका हङकङ आइडी वाहकलाई फर्किन दिएको छ ।’ नेपालमा करिब हजार जना बढी रोकिएका छन् ।

हङकङ सरकारले शुक्रवार नै स्वास्थ्य तथा खाद्य ब्युरोमा नेपाली प्रतिनिधि बोलाएर समस्या सुनेपछि सरकारी ग्याजेटमा तत्काल सार्वजनिक गर्दै हङकङ फर्किन पाउने व्यवस्था गरेको गुरुङले बताइन् । उनका अनुसार हङकङ फर्किनका लागि सेप्टेम्बर १५ तारिख देखि पाउने छन् ।

तर त्यसका लागि कोरोना सङ्क्रमण भए नभएको पिसिआर जाँच ७२ घण्टा भित्र दुई पटक गरेको हुनु पर्ने र रिपोर्ट नेगेटिभ आएको हुनु पर्ने छ । उनले भनिन्, ‘हङकङ सरकारले केही सर्त राखेको छ । नेपालमा भ्याक्सिन लगाए पनि हङकङ आएपछि २१ दिन होटल क्वारेन्टीनमा बस्नु पर्ने प्रावधानको पालना भने गर्नुपर्ने छ ।’ ब्युरोको बैठकमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली पनि सहभागी थिए ।

हङकङमा समुदाय स्तरमा कोरोना सङ्क्रमण शून्य छ । तर बाहिरबाट आएका व्यक्तिहरूमा फाट्टफुट्ट देखिएकाले पिसिआर जाँच र होटल क्वारेनटाइन कडारुपमा लागु गरेको गुरुङले बताइन् । हङकङ सरकारले स्थायी बासिन्दालाई मात्र आउन दिने भएपछि आफूहरूले ती आइडीवाहकमा आश्रित, भ्याक्सिन नलगाएका जटिल रोग भएका व्यक्ति र नेपालमा भ्याक्सिन नलगाएका १८ वर्ष मुनिका बालबालिकालाई पनि आउन दिनुपर्ने वातावरण बनाउन आफूहरूले माग गरेको गुरुङले बताइन् ।

जवाफमा स्वास्थ्य तथा खाद्य ब्युरो प्रमुख डा टिवाइ चुइले त्यसको पनि क्रमशः व्यवस्था गर्दै जाने जानकारी दिएको गुरुङले बताइन् । उक्त अवसरमा महासङ्घका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली र गुरुङले नेपालीहरूलाई डोमेस्टिक भिसा उपलब्ध गराउन पनि माग सहित ज्ञापन पत्र बुझाएका थिए ।