धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिको चुनावमा प्यानलकै आधिकारिक उम्मेदवारी सार्वजनिक गर्नेमा संस्थापन पक्षका सभापतिका प्रत्याशी श्याम पोखरेलको समूह अगाडि भएको छ । शनिवार आयोजित उम्मेदवारी घोषणा सभामा वर्तमान काँग्रेस सभापति तथा मेयर तिलक राईले औपचारिक रूपमा पोखरेल समूहको उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेस धरान उपमहानगर समितिमा संस्थापन पक्ष बाट सभापति श्याम पोखरेल, उपसभापति सन्तोष लिम्बु र नरेन्द्रकुमार राई (प्रवीण), सचिव जितेन्द्र राई र हिमाल श्रेष्ठ, सह-सचिव शिला बज्राचार्य र युनेश राना मगर तथा कोषाध्यक्ष पञ्चकला राई आधिकारिक उम्मेदवार घोषित भएका हुन् । 

काँग्रेसको विधान अनुसार कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने छन् । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव असोज ९ गते हुँदै छ। आधिकारिक उम्मेदवारको घोषणा गर्दै सभापति राईले भने ‘काँग्रेस अहिले स्थानीय सरकारको नेतृत्वमा रहेको र वर्तमान नगर कार्यसमितिको नीति तथा कार्यक्रम अनुसार नै धरानमा चुनाव जितेर नयाँ राजनीतिक इतिहास बनाउन सफल भएकोले अहिलेको कार्यसमिति संस्थापन पक्ष हो ।’

संस्थापन पक्षको सफलताले काँग्रेसमा नयाँ लहर आएको बताउँदै उनले धरानमा काँग्रेसलाई बलियो बनाउन संस्थापन पक्षकै निरन्तरता जरुरी भएकाले आफ्नो कार्यकालको उत्तराधिकारीका रूपमा नयाँ कार्यसमितिका लागि आधिकारिक उम्मेदवार घोषणा गरिएको बताए ।

उनले भने 'काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका कोही पनि क्रियाशील सदस्य चुनावमा उम्मेदवार हुन पाउँछ, अरू पनि उम्मेदवार होलान् ।' तर शनिवार घोषित अधिकारीक उम्मेदवारको पक्षमा वडाहरूबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूको दुई तिहाइ साथ र समर्थन रहेको उनले दाबी गरे ।

सभापतिका आधिकारिक उम्मेदवार घोषित श्याम पोखरेलले आफ्नो टिमको जीत सुनिश्चित रहेका बताउँदै भने 'मेरो टिमका सबै नयाँ पुस्तका फ्रेस युवाहरू छौँ, फ्रिजमा राखेर ताजा देखाउन तताएको बासी कोही पनि छैनौँ।' उनले आफ्नो टिम तिलक राईको संस्थापन समूहले उत्पादन गरेको नयाँ युवा नेतृत्व भएको बताउँदै संस्थापन समूहले धरानमा काँग्रेसको जुन नयाँ इतिहास बनाएको छ, त्यसलाई आफ्नो नयाँ टिमले अरू एक कदम अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले पार्टी अफिसको नाममा चन्दा उठाउने कार्यालय भने पान दोकानमा चलाउने काँग्रेसी पनि धरानमा भएको बताउँदै भने ‘नैतिकता छ भने पार्टीको नाममा उठाइएको चन्दाको हिसाब सार्वजनिक गरियोस् ।’

संस्थापन पक्षले आफ्नो कार्यकालमा पार्टी कार्यालय भवन समेत निर्माण गरेको कुरा अघिल्ला कार्यकालमा पदाधिकारीलाई सम्झाउन खोजे । पोखरेलले आफू विजयी वडा १२ को क्षेत्रीय प्रतिनिधि चुनावमा अराजक स्थिति उत्पन्न गरी एक दिन रोकिएको उल्लेख गर्दै उनले पार्टीमा स्वास्थ्य प्रतिस्पर्धा गर्न डराएर पराजित मानसिकताबाट गरिएको छलकपट असफल भएकोले सभापतिको चुनावको परिणाम के हुन्छ भने सङ्केत त्यसैबाट प्रस्ट भएको बताए ।

प्रमुख अतिथि प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले संस्थापन पक्षको निरन्तरता लाई नयाँ गतिमा अघि बढाउन नेविसंघबाट अघि आएको युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सशक्त उम्मेदवारहरू चयन गरिएको बताए ।

जिल्ला सचिव सुजेन्द्र तामाङले घोषित उम्मेदवारहरूलाई काँग्रेसको जिल्ला समिति, भातृ सङ्गठनहरू, काँग्रेसका जनप्रतिनिधिहरू सबैको समर्थन र सहयोग रहेको स्पष्ट गरे । सुनसरी-१ क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले धरानको काँग्रेसको नयाँ उत्साह र गतिलाई अघि बढाउन उपयुक्त युवा पुस्ताका नेतृत्व चयन गरिएको बताए । कार्यक्रम सञ्चालन प्रदेश १ (ख) क्षेत्रीय सभापति मुरारी भट्टराईले गरेका थिए ।

shyam-pannel-2