विराटनगर : नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको छ ।

आज काठमाण्डौंमा बसेको दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको सांसद उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकार समर्थन नरहेको निर्णय समेत गरेको राईले बताए । संसदीय दलको निर्णय प्रदेश सभा सचिवालयमा आज नै दिइने घिमिरेले बताए ।

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रवार निर्वाचन आयोगले सदर गरेको थियो ।

राजेन्द्र राई, राजन राई, उपेन्द्रप्रसाद घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।

बहुमतप्राप्त दलको नेताको रूपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् ।