धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरी जिल्लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार वडा अध्यक्षलाई धम्की दिई पैसा माग्ने देखि लिएर लागुऔषध र प्रतिबन्धित औषधी ओसापसार गर्नेहरू रहेका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष नारायण चौधरीलाई अपरिचित व्यक्तिले फोन गरी गाली गौलज, धम्की दिई नगद २० लाख मागी मागी फरार रहेका एक जनालाई पनि सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं.१ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमक झापाको सहयोगमा उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई इटहरीबाट मुलुकी अपराध (संहिता) ऐन – २०७४ बमोजिम “अभद्र व्यवहार” शीर्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट भदौ २६ गतेबाट लागु हुने गरी ७ दिन म्याद लिई कानुनी प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रहरीले कोसी गाउँपालिकाको कोसी कटानबाट ६० बोतल डाईलेक्स डी.सी., २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद २० हजार सहित ३ जनालाई पक्राउ गरिएको छ ।

सप्तरी जिल्लाको हनुमाननगरबाट ठुलो मात्रामा लागु औषध सुनसरी जिल्ला भित्रिँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले लागु औषध कारोबारी उक्त समूहलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरूमा सप्तरीको हनुमान नगर कंकालनी–७ बस्ने वर्ष २१ को सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहागडी–१२ बस्ने वर्ष २२ को अवशेष कुमार मण्डल र जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी–१२ बस्ने वर्ष २५ को रोशन मण्डल रहेका छन् । रोशन कुमार मण्डलको साथबाट भारतीय रुपैयाँ नगद २० हजार समेत बरामद गरिएको छ ।

यसै गरी, सुनसरी भोक्राह नर्सिङ – ६ वाट अररीया जिल्ला बेलगामा पञ्चायत घुर्ना थाना–५ भारत बस्ने वर्ष १९ को रुपेस कुमार मेहताको साथबाट डाईलेक्स डी.सी. १०० एमएलको १६ बोतल नाईट्रोसन ८ पत्तामा ८० ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस ५ पत्तामा १२० क्याप्सुल समेत बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारबाही प्रक्रियाका लागी सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई कानुनी पक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी चेकिङ टोलीले मिति भदौ २८ गते आकस्मिकरुपमा चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका – ४ बसपार्क एरियामा हरिनगरा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४० को विष्णु ऋषिदेवलाई प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।

उनको साथबाट Tramadol capsule IP 50 mg ११२४ पत्तामा १० क्याप्सुलका दरले १२,२४० क्याप्सुल बरामद गरिएको छ । उनलाई आवश्यक कानुनी कारबाहीका लागी औषधी व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।