झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नयाँ पार्टी निर्माण गरेको नभई एमाले फुटाएको आरोप लगाएका छन् ।

सभामुखले निष्पक्षता नअपनाउँदा र पार्टी कार्यकर्ताको रूपमा काम गरी प्रतिपक्षीका विरुद्ध षड्यन्त्र गरेकाले संसद्मा अवरोध गरेको भन्दै अवरोध जारी नै रहने ओलीको भनाइ छ ।

नेकपा एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रहेर माधव नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको आरोप समेत लगाए ।

एमालेलाई फुटाए पनि सिङ्गो पार्टीले हिम्मत नहारेको र अब पनि एमालेकै जित हुने उनको दाबी छ । एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गरे ।

वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पूर्णता नपाएको भन्दै ओलीले अहिलेको सरकारले बहुमूल्य समय खेर फालिरहेको बताए । यो अवधिमा काँग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको समेत ओलीको आरोप थियो ।

आफ्नो भाषणको अधिकांश समय ओलीले माधव नेपालप्रति लक्षित गरेका थिए । अर्को प्रसङ्गमा उनले सभामुखले निष्पक्षता नअपनाउँदा र पार्टी कार्यकर्ताको रूपमा काम गरी प्रतिपक्षीका विरुद्ध षड्यन्त्र गरेकाले एमालेले सभामुखलाई नमानेको बताए ।

संसद्मा अवरोध जारी रहने उनको जिकिर थियो । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला कमिटी इन्चार्ज रबिन कोइरालाले पहिलेको निर्वाचन परिणामलाई आत्म समीक्षा गर्दै आगामी महाधिवेशनमा जुट्नु पर्ने बताए । अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने उनको भनाइ थियो ।

यस्तै एमाले केन्द्रीय कमिटी सदस्य हिकमत कार्कीले संविधानको यथार्थतालाई कुल्चिएर अध्यादेश मार्फत एमाले फुटाइएको आरोप लगाए । भेलामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।