धरान : ५७ औँ राष्ट्रिय बाल दिवस धरानमा पनि मनाएको छ ।

धरान नगर बाल सञ्जालले बाल दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गरी मनाएको हो ।
धरान उपमहानगरपालिकाको सभा हलमा आयोजित प्रतियोगितामा प्रभास नेपाल प्रथम, प्रमेश आले मगर द्धित्तिय, तुलशा राई तृतीय भएका छन् । रोजिना लामिछाने र अङ्कित ढुङ्गाना सान्त्वना भएका छन् ।

उनीहरूलाई उप प्रमुख मञ्जु भण्डारीले नगद सहित प्रमाण पत्र प्रदान गरेकी थिइन् । प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो । सान्त्वना हुने दुई जनालाई जनही १ हजार रुपैयाँ सहित प्रमाण पत्र वितरण गरिएको थियो ।

शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवाल, सामाजिक महाशाखा प्रमुख प्रज्ञादेखि निरौला र बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले प्रतियोगिताको सहजीकरण गरेका थिए । बालबालिका र कोरोना महामारी भन्ने शीर्षकमा १४ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

उपप्रमुख भण्डारीले धरानका केही वडाहरू बालमैत्री वडा घोषणा हुन बाँकी रहेको बताइन् । उनले बालमैत्री वडा घोषणा भएपछि धरानलाई बालमैत्री नगर घोषणा गरिने बताइन् ।

बालबालिकाको क्षमता विकास गर्ने दायित्व नगरपालिकाको रहेको उनको भनाई थियो । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन जस्ता प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।