झापा : कोरोनाको जोखिम केही कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक संस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ ।

सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरू र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग विद्यालय सञ्चालन सम्बन्धमा सुझाव मागिएको थियो ।

सोही सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितिले असोज पहिलो साताबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको न्यौपानेले बताए । जसमा कोरोनाबाट बच्ने उपायहरू पुर्णरुपमा पालना गर्नु पर्ने हुन्छ ।

कक्षा कोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने, मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षा कोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने, भिडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताए ।