धरान : नेपाली काँग्रेस धरान नगर समितिको चुनावका लागि संस्थापन पक्ष श्याम पोखरेलको प्यानललाई खाजा खर्चका लागि प्रदान गरिएको ५० हजार रुपैयाँ पार्टीको धरान–२ स्थित नवनिर्मित भवन रंगरोगन गर्नका लागि हस्तान्तरण गरिएको छ । 

धरान-१८ स्थित हिमालयन छेदेन गुन्पोमा आयोजित कार्यक्रममा सभापति पोखरेलको समूहलाई उक्त रकम प्रदान गरिएको थियो ।

सभापतिका उम्मेदवार श्याम पोखरेलले भने ‘यो चुनाव पार्टीको आन्तरिक चुनाव हो, विपक्षी पार्टी सँग चुनाव लडेको जस्तो तामझाम गरेर खुवाउने पिलाउनेमा ठुलो खर्च हाम्रो समूहले गर्दैन बरु यो रकम पार्टीको नयाँ भवनमा रंगरोगन गर्ने पैसा नभएकाले त्यसैमा खर्च गरिने छ ।’ उनले आफ्नो टिम घरको भात खाएर, आफ्नै पकेटको पैसाले खाजा खाएर चुनाव प्रचारमा हिँडेको बताए ।

काँग्रेसको सुनसरी–१ क्षेत्रीय समिति सदस्य तथा हाल नगर समितिका उपसभापतिका उम्मेदवार नरेन्द्रकुमार राई ( प्रविण ) र महासमिति सदस्य सन्तोष विकले चुनावमा खाजा खर्चका लागि ५० हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम सभापतिका उम्मेदवार पोखरेलले काँग्रेसका कोषाध्यक्ष सुवर्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । पोखरेलले भने ‘काँग्रेसको चुनावमा भोट लगाउनु हुने वडाबाट चुनिएर आउनु भएको क्षेत्रीय प्रतिनिधिहरू पार्टीका प्रतिबद्ध विवेकवान् कार्यकर्ताहरू हुनुहुन्छ, उहाँहरूले विवेक प्रयोग गरेर युवा पुस्तालाई भोट दिनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

उनले आफ्नो समूह पार्टी सङ्गठनलाई मजबुत बनाउन निस्स्वार्थ समूह रहेको बताउँदै पार्टीमा सही नेतृत्व आएन भने पार्टी व्यक्तिको पछि दौडनु पर्ने स्थिति बन्न सक्ने बताए । १३ औँ महाधिवेशन पछि धरानमा काङ्ग्रेसप्रति आकर्षण बढेको बताउँदै पोख्रेलले  भने ‘हामी धरानमा काँग्रेसको सिर उच्च बनाउने काम गर्ने प्रतिबद्धता जनाउँदछौ ।’ 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले श्याम पोख्रेल नेतृत्वको प्यानल सक्षम र सबल रहेको बताउँदै भने ‘यही नेतृत्वले मात्र धरानमा काँग्रेसलाई सक्रिय रूपमा अघि बढाउन सक्छ ।’ काँग्रेस सुनसरीका सचिव सुरेन्द्र तामाङले पोखरेल समूहमा धरानका २० वटै वडाका बुथ सभापतिहरूको भावना, कार्यक्षमता बुझेर कदर गर्न सक्ने क्षमता रहेको बताए ।

सुनसरी क्षेत्र  १ (ख) का सचिव मुरारी भट्टराईले भने ‘जसरी एक कार्यकाल पदमा रहेर काँग्रेस नगर सभापति तिलक राईले नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुभयो त्यसले धरानको काँग्रेसमा नयाँ परम्परा सुरु गरेको छ ।’ अब पटक पटक एकै व्यक्ति अब एक पटक भन्दै पदमा बसिरहे युवा पुस्ता कहिले नेतृत्वमा आउँछ ? भनी प्रश्न गर्दै भने ‘अब फकाई फुल्याई गरेको भरमा मतदान गर्न हुँदैन गौरवका साथ युवा पुस्तालाई अघि बढाउने कार्य गरिनु पर्दछ ।’

सभापतिका प्रत्याशी श्याम पोख्रेलको समूहबाट उपसभापतिदोयमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बु उम्मेदवार छन् । दुई सचिव पदमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार छन् । दुई सहसचिव पदमा शिला बज्रचार्य र युनेस राना मगर उम्मेदवार छन् । कोषाध्यक्ष पदमा काँग्रेस धरानकी महिला विभाग प्रमुख पञ्चकला राई रहेकी छन् ।