धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले धरानका दुई जना युवालाई ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार धरान-७ का ३० वर्षीय सन्तोष लिम्बु र धरान-८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई इनरुवा ३ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश नं १-०२-०४५ प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठुलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट कुल ९ हजार २५० क्याप्सुल ट्रमाडोल भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यसै गरी सुनसरीको कोसी गाउँपालिका ७ कोसी नदीको किनारको झाडीमा ६० केजी बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ। ४ वटा प्लास्टिकको बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।