धरान : धरानमा संविधान दिवस भव्य रूपमा मनाइएको छ ।

आज बिहान कार्यक्रमका प्रमुख अतिथि प्रदेश एकका सभामुख प्रदीप कुमार भण्डारी, उपमेयर मञ्जु भण्डारीले धरान २ स्थित भानुचौकमा झण्डोतलन गरेर संविधान दिवसको उद्घाटन गरेका थिए ।

झण्डोतलन पश्चात् धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक हलमा संविधानमा भएका मौलिक हक सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । सभामुख भण्डारीले संविधान दिवसको शुभकामना दिँदै संविधान दिवस ७ औँ वर्ष पुरा गरी ८ औँ वर्षमा प्रवेश गरेको बताए ।

उनले प्रदेश सरकारले ५६ वटा मात्र कानुन निर्माण गर्न सकेको तर, कतिपय कार्यान्वयन हुन नसकेको बताए । स्थानीय सरकार अधिकार सम्पन्न बनाएर अगाडी बढाउनु उनको धारणा थियो । सभामुख भण्डारीले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर अगाडी बढाउन सकियो भने मात्र लोकतन्त्र, गणतन्त्र अझ मजबुत भएर जान सक्ने धारणा व्यक्त गरे ।

जनताको ताली खाने पनि, गाली खाने पनि जनप्रतिनिधि नै रहेको बताउँदै स्थानीय सरकारले कानुनभन्दा बाहिर गएर काम गर्न नहुने बताए । उनले स्थानीय तहमै कानुन निर्माण गरेर जनताको समस्या समाधान गर्न सकिने बताए ।

उपमेयर मञ्जु भण्डारीले स्थानीय सरकारले काम गर्दा भौतिक विकासलाई मात्र प्राथमिकता दिएको बताउँदै संविधान निर्माणमा कमै प्राथमिकता रहेको बताइन् । धरानमा बालमैत्री स्थानीय शासन लागु गर्ने तयारी गरिरहेको उनले बताईन् ।

संविधानको विषयमा अन्तरक्रिया कार्यक्रम गर्न जरुरी रहेको बताउँदै सङ्घीय सरकार आए पछिको पहिलो कार्यकाल भएको कारण सिक्ने र सिकाउने काम मात्र भइरहेको उपमेयर भण्डारीले धारणा व्यक्त गरिन् । कार्यक्रममा धरान उपमहानगरपालिका कर्मचारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।