इटहरी : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहजिल्लाबाट महाधिवेशनको प्रचार अभियान सुरु गरेका छन् । संविधान दिवसको अवसर पारेर प्रवक्ता शर्माले झापाबाट प्रचारात्मक अभियान सुरु गरेका हुन् ।

यसअघि काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा सुन्दरी जलमा रुद्राक्षको बिरुवा रोपेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए । त्यस लगत्तै झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा शर्माले २४ बुँदे अवधारणा पत्र सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

“हिजो राजनीतिक परिवर्तन, आज राजनीतिमा परिवर्तन” विषयक अवधारणा पत्र सार्वजनिक कार्यक्रममा उनले २४ बुँदा बारे संक्षिप्त जानकारी गराए । राजनीतिमा लागेका युवाहरू उद्यमशील भए भने मात्र राजनीतिमा परिवर्तन उनले उनको बुझाई छ । युवाहरू आत्मनिर्भर भएपछि मात्र भ्रष्टाचार र अनियमितता रोकिने र जसको कारण राजनीति स्वच्छ र सदाचारयुक्त हुने उनको अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

एक सातामा ३ दिन पार्टीका लागी र ४ दिन रोटीका लागी छुटाउनुपर्ने उनको प्रस्ताव छ। शासनको संस्कार परिवर्तन गर्न भन्दै उनले राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तिन पटक र सांसद ४ पटक भन्दा बढी हुन नपाउने व्यवस्था लागु गर्नुपर्ने उनले बताए । त्यसको लागी वान, टु, थ्रि, फोर प्रणाली लागु गर्नुपर्ने र जसले गर्दा पुरानो पुस्ता आफै राजनीति बाहिर हुने उनको विश्वास छ ।

यो व्यवस्था हजारौँ सहिदको बलिदानी पछि प्राप्त उपलब्धि भएको भन्दै उनले अव्यवस्था बदल्नुपर्ने बताए । राजनीतिमा प्रश्न गर्न पाउने स्वतन्त्रता भएकोले सम्पूर्ण कार्यकर्ता र पत्रकारहरूलाई बारम्बार आलोचना र प्रश्न गरिरहन आग्रह गरे ।

पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको समेत गृह जिल्ला रहेको झापामा शर्माले आफ्नो पकड बलियो बनाएका छन् । १३ औँ महाधिवेशनमा सिटौलाको एकछत्र मानिएको झापामा यस पटक वडा तह देखी नै निर्वाचन मार्फत मात्र पदाधिकारी चयन भइरहेका छन् । त्यसमा पनि सिटौलाको उपस्थिति कमजोर देखिएको छ ।