इटहरी : भदौ ३० गते बुधवार तोक लगाउन कार्यकक्षमा पुगेका सेवाग्राही महिलालाई इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले अपमान गरेका छन् । इटहरी-४ का सिता शेर्पा राई र शर्मिला भट्टराई अनुदानको रकमको लागी हस्ताक्षर गर्न मेयर चौधरी समक्ष पुगेका बेला उनले अपमान गरेका हुन् ।

'यो आइमाईलाई कसले भित्र छिर्न दियो निकालिहाल.....' भन्दै मेयर कड्किए पछि दुई महिला बाहिर निस्किए । बैठक चलिरहेको बेला अनुमति सहित मेयर समक्ष निवेदन गर्न पुगेका उनीहरू निराश भएर फर्किए ।

हिंसा पीडित महिलालाई स्वरोजगारको लागी आएको १० हजार लिन पुगेकी शर्मिला भट्टराई अपमानित हुनुपर्‍यो । चटपटे, पानी पुरी व्यवसाय गर्न पाउन लागेको अनुदानमा मेयरको बोली बचनले नराम्रो लागेको उनले बताइन् । वडा कार्यालयको सिफारिस सहित पुगेका उनीहरू अपमानित भएपछि अलमलमा परेका छन् । बाहिर निस्किनसाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले पनि अर्को अपमान गरे ।

‘हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्दै हिँड्न लाज लाग्दैन ? भन्दै झपारेको शेर्पाले बताइन् । आफू भट्टराईको साथी मात्र गएको बताउँदै उनले ग्यारेन्टीवाला सुन लगाएकोमा मेयरका पिएले आपत्ति जनाएको बताइन् । पीडित महिलाको समर्थनमा विभिन्न १३ सङ्गठन र महिला अधिकारकर्मीहरूले मेयरले गरेको कार्यको विरोध जनाएका छन् । नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व रहेको उनीहरूको बुझाई छ ।

स्थानीय तहका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले अपमानित गरेको उनीहरूको भनाई छ । चौधरीले महिला समक्ष सार्वजनिक स्थानमा माफी माग्नु पर्ने समेत माग गरेका छन् ।