झापा : मोरङ सलकपुरकी रोजिना गिरीको हत्या भएको भन्दै आफन्त र स्थानीयद्वारा इलाका प्रहरी कार्यालय बेलबारी अगाडी आधा घण्टा प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण केही समय पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको थियो । प्रहरीले भिडलाई हटाएपछि पूर्वपश्चिम सडक सुचारु भएको छ। प्रदर्शनमा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतको उपस्थिति रहेको थियो। रोजिनाको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाहीको माग सहित उनीहरूले प्रदर्शन गरेका हुन ।

आइतबार बिहान सुन्दरहरैंचा-८ सलकपुरमा आफ्नो कोठामा मृत अवस्थामा फेला परेकी रोजिना गिरीले आत्महत्या गरेको नभई हत्या गरिएको माइती पक्षले दाबी गर्दै आएका छन् ।

उर्लाबारी-८ दुर्गापुरी माइती भएकी उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाएपछि प्रहरी गएर वडाध्यक्ष खेमप्रसाद न्यौपानेको रोहबरमा ढोका फोडेको थियो । आफूहरू नआई कोठा खोलिएको भन्दै माइती पक्षले आपत्ति जनाएको छ।

व्यक्ति जीवित भएको भए अस्पताल लैजान सकिने आशामा ढोका फोडिएको प्रहरीले बताएको छ। खुट्टा बाहिर र शरीर चाहिँ पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सलको पासोले सिलिङ फेनमा झुन्डिएर आत्महत्या गरेपछि पासो चुँडिएजस्तो देखिने प्रहरीको भनाइ छ ।

रोजिनाको २०७७ साल असारमा सुन्दरहरैंचा सलकपुरका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो । विनोद अहिले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीमा छन् । सो घरमा भने सासू र बुहारी मात्र बस्ने गरेको बताइएको छ।

rojina-giri
कोठामा मृत अवस्थामा फेला परेकी रोजिना गिरी