इटहरी : नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले सुनसरीमा जुनसुकै हालतमा ९ गते नै पालिका अधिवेशन हुने बताएका छन् । सुनसरीको रामधुनी नगर काँग्रेसले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उनले केन्द्रले मिति सारे पनि सुनसरीमा ९ गते नै अधिवेशन हुने बताए।

बारम्बार अधिवेशनको मिति सार्दा कार्यकर्तामा निराशा र उम्मेदवारमा तनाव बढ्ने उनको भनाई छ। वडा देखि जिल्ला सम्म सबै मिलेपछि किन अधिवेशन नगरेको भनेर कार्यकर्ताहरू प्रश्न गर्न थालेको उनले बताए। सबै उम्मेदवारलाई आ-आफ्नो हिसाब तयारी गर्न आग्रह गर्दै उनले सुनसरीमा अब अधिवेशन नसर्ने प्रष्ट पारे।

फरक प्रसङ्गमा बोल्दै उनले प्रदेश १ मा एमाले सरकार अल्पमतमा रहेको र चाडै नयाँ सरकार बन्ने उद्घोष गरे । ढल्नै लागेको सरकारले मन्त्रीमण्डल बिस्तार र सरुवा बढुवा गरेर निर्लज्जता प्रस्तुत गरेको कोइरालाको भनाई छ। गठबन्धनकै सरकार बन्ने भए पनि कसको नेतृत्वमा जाने भन्ने कुरा टुङ्गिएको छैन।

“गठबन्धन कै नेतृत्वमा सरकार बन्छ। त्यसमा काँग्रेसको मुख्य दाबी रहन्छ ।,” उनले भने, 'विपक्षी मध्येमा सबैभन्दा ठुलो दल काँग्रेस हो। यो बेला काँग्रेसले आफ्नो आन्तरिक विषय थाती राखेर मुख्यमन्त्री लिन सक्नुपर्छ । त्यसमा मेरो जोड छ ।”