इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार वर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मारेको दाबी गरेका छन् ।

कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले पुस सम्ममा इटहरीका प्राय सबै मूलबाटोहरू पिच भइसक्ने बताए । प्रमुख चोैधरीले चार वर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । यो आर्थिक वर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरी धमाधम काम भइरहेको बताए ।

चार वर्षमा चालिस किलोमिटर भित्री बाटोहरूमा ब्लक ओछ्याउने काम भएको र यो वर्ष थप १० किलोमिटर भित्री बाटोहरूमा ब्लक ओछ्याई सकिने बताए । उनका अनुसार केही दिन भित्रैमा पाँच करोड लगानीमा बन्ने हुलाकी सडक अन्तर्गतको पुल शिलान्यास हुने छ ।

इटहरीमा चार वर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भई सकेका छन् । चार वाट ठुला पुल निर्माण प्रक्रिया सुरु भएको छ। उनले इटहरीमा चाडै नै एक अर्ब ३७ करोडको विश्व बैंकको परियोजना सञ्चालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ ।

आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन । केही महिना भित्रैमा इटहरीका सबै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन् । १४ वटा स्वास्थ्य इकाई भवन निर्माण सकेर केही महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ ।

त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर, औषधी लगायतको व्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिए। उनका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमरजेन्सी ब्लक समेत बन्दैछ । अहिले इटहरी अस्पतालमा एमडिजिपि सहित ५४ जनाले सेवा प्रदान गरिरहेको छ ।