इटहरी : नेपाली काँग्रेस रामधुनी नगर समितिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । हालका सभापति सुदीप अधिकारीले पुनः नगर सभापतिमा उम्मेदवारी दाबी गरेसँगै अन्य दुई युवाले पनि सभापतिमा आकाङ्क्षा देखाएका छन् । दुईमध्ये स्वभावैले बलियो उम्मेदवार मानिएका अधिकारीले चुनावी अभियान तीव्र बनाएका छन् । थारु बाहुल्य क्षेत्रमा थारुकै मुद्दा बोकेर चुनावमा होमिएका छन् उनी । साबिकको रामधुनी, भासी, सिंङ्घीया र बक्लौरी गाविस मिलेर बनेको सिङ्गो रामधुनीको पहिलो नगर सभापति हुने लाइनमा छन् उनी ।

रामधुनीलाई काँग्रेसको गढ बनाउने योजना

म कसैले बुझाएर वा अन्य पार्टीबाट असन्तुष्ट भएर काँग्रेस भएको हैन। नेपाली काँग्रेसको सिद्धान्त आदर्श बुझेर काँग्रेसमा सक्रिय भएको हुँ । तरुण दलबाट काँग्रेसको मोर्चा सम्हाल्ने अवसर पाएँ । यो मेरो सुखद सुरुवात हो १३ औँ अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदा मैले नै विजय हासिल गरे। पहिलो कार्यकाल कार्यकर्ता चिन्दा र समायोजनको विषय टुङ्गो लगाउँदैमा बित्यो । अबको कार्यकाल सङ्गठन सुदृढ गर्ने र विजय नगरपालिकाको कार्यपालिकामा प्रमुख उपप्रमुख सहित बहुमत पुर्याउने योजना छ । रामधुनीमा जोडिएका ३ वटै निर्वाचन क्षेत्रमा काँग्रेसलाई विजयी गराउने सङ्कल्प सहित म सभापति हुन लागेको हुँ।

पराजितलाई पनि विजयको अनुभूति गराउँछु

अधिवेशनको क्रममा वडा तहदेखि गुटको सृजना भएको छ। आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको प्रभाव पर्ने देखिन्छ। निर्वाचनको तयारीको लागी भातृ संस्था देखी सबै अङ्गहरू परिचालन गर्नुपर्ने छ । म त्यसको लागी तयारी अवस्थामा छु । १० गतेपछि कुनै गुटको भूमिका देख्न नपाउने गरी काम गर्नुपर्ने हुन्छ। पराजितलाई पनि विजयको अनुभूति दिलाउने मेरो सङ्कल्प छ। लोकतन्त्रमा पराजितको पनि अधिकार हुन्छ भन्ने मैले बुझेको छु । त्यसैले उनीहरूको विचारको सम्मान र उचित भूमिकाको लागी म तयार छु। लोकतन्त्रको उच्चतम अभ्यास कस्तो हुन्छ भन्ने देखाउन पनि मेरो उम्मेदवारी हो।

कार्यकर्तालाई निराश बनाउँदिन

मेरो नेतृत्वमा पार्टीको विधि बाहिर काम हुँदैन। म विजयी हुन्छु भन्नेमा विश्वस्त छु । हाल मेरै सचिव प्रतिस्पर्धी हुनुहुन्छ । पहिलो कार्यकालमा पुरा गर्न नसकेका कतिपय विषय दोस्रो कार्यकालमा गर्ने मेरो अठोट छ । मैले कार्यकर्तालाई निराश बनाउँदिन । मेरो जितले कार्यकर्ता निराशा भएको पाए भने म आत्मालोचना गर्न तयार छु। त्यसको लागी सभापति हुनुभन्दा पहिला र अहिलेको काँग्रेसको अवस्था हेरेर पनि मेरो उम्मेदवारी प्रस्ट हुन्छ। यस बिचमा पार्टीको नियमित बैठक देखी भातृसंस्थाको परिचालनले पनि मलाई सहयोग पुग्ने विश्वास लिएको छु । सुदीप अधिकारी राम्रो भएर मात्र हैन मैले गरेको कामको समीक्षा गरेर विजयी गराउने हो।

sudip-ramdhu-ni

थारु भाषा र संस्कृतिको संरक्षण काँग्रेसको दायित्व

विजय थारु बाहुल्य नगरपालिका भएकोले थारु भाषा कामकाजीको भाषा हुनुपर्छ भनेर मैले पहिलो पटक माग राखेको हुँ । अहिले मुद्दा स्थापित हुने लाइनमा लागेको छ । यस बिचमा थारुहरूका ग्रामथान र पोखरी मासिए । त्यसमा म दुखित छु । स्थानीय संस्कृति जोगियो भने मात्र हामी बलियो हुन्छौ । त्यसैले अब आउने नेतृत्वमा थारु संस्कृति र भाषाको संरक्षण गर्ने दायित्व छ । जुन म पुरा गरेर देखाउँछु।

स्थानीय युवालाई स्वावलम्बी र सीपयुक्त बनाउने

स्थानीय युवालाई पार्टीमा ल्याएर प्रयोग मात्र गर्ने चलन बढ्यो । जिम्मेवारी दिने विषयमा नेतृत्व पछि हट्दै गएको छ । आफू ठाउँमा पुगेपछि बेवास्ता गर्ने प्रवृत्ति छ। अब मूल पार्टीको मुद्दा युवा स्वरोजगारमा केन्द्रित हुनुपर्छ । स्वावलम्बी युवा भए मात्र राजनीतिमा सुधार हुन्छ। आर्थिक रूपमा आत्मनिर्भर युवाले समाजमा योगदान पुर्‍याउन सक्छ । त्यसैले म ‘एक युवा एक सीप, एक सीप एक रोजगारी’ को अभियान चलाउने योजनामा छु।

युवा जागिरमा वा कुनै व्यवसायमा लाग्यो भने कार्यकर्ता घट्ने भय पाल्नु हुँदैन। पार्टी र व्यवसायलाई व्यवस्थापन गर्ने क्षमता भएको युवा नै अहिलेको आवश्यकता हो ।अर्को तिर युवाहरू राजनीतिमा आए आफू विस्थापित हुने डर धेरै पाका नेतालाई छ । नेतृत्व पंङती नयाँ पुस्तालाई अवसर नदिने मनसायमा छ । तर म भने युवालाई उत्प्रेरित गर्ने र सँगसँगै अगाडी बढ्ने लक्ष्य राखेको छु।