विराटनगर : इटहरीमा ३१ जना सहित प्रदेश १ मा १६१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा सङ्क्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहबीमा ३, वराहक्षेत्र र रामधुनीमा २-२, गढी र देवानगञ्जमा १-१, झापाको बिर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३-३, हाल्दिबारी र गौरादहमा १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१ र उदयपुरको त्रियुगामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।