झापा : कोरोना भाइरस सङ्क्रमणको चेन ब्रेक गराउन भन्दै झापामा झण्डै अढाई महिना निषेधाज्ञा लगाइएको थियो । तर, निषेधाज्ञाका कारण व्यापार व्यवसाय देखी दैनिक जीवन यापनमै समस्या भइरहेको व्यापक जनगुनासोपछि झापाका आम नागरिकको जीवन सामान्य तर्फ फर्काउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुला गरिदियो ।

चाडबाडमा व्यापार व्यवसाय र किनमेललाई ध्यानमा राख्दै निषेधाज्ञा खुकुलो बनाइए पनि झापाको अवस्था सोचेजस्तो सहज नभएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य कार्यालय झापाले हरेक दिन सार्वजनिक गरिरहेको तथ्याङ्कमा कोरोना सङ्क्रमण दर र मृत्यु हुनेको सङ्ख्या अझै शून्यमा आउन नसकेको देखिन्छ । सङ्क्रमण दर र मृत्यु दरको सङ्ख्या हेर्दा झापामा जोखिम कायमै रहेको पाइएको छ ।

बिहीबार मात्रै झापामा बिर्तामोडका १५ जनासहित ३२ जनामा कोरोना पुष्टि भयो । तीन जना सङ्क्रमितले ज्यान गुमाए ।

झापामा हालसम्म २५ हजार १४ जनामा कोरोना पुष्टि भइसकेको छ भने उपचार पछि डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार ८ सय २४ रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार ६२४ जनाले कोरोनाका कारण ज्यान गुमाएको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

असोज १ गतेदेखि २१ गतेसम्म मात्रै झापामा ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।