सुनसरी : सुनसरी सदरमुकाम इनरुवा स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा भएको आत्महत्या घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन भएको छ ।

प्रहरीको हिरासतमा भएको मोहमद हकिम साँको आत्महत्या घटना बारेमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा छ सदस्य हिरासत भित्रको घटना बारेमा छानविन गर्न समिति गठन गएिको हो ।

समितिमा नेपाल प्रहरीको अधिकृत, हरिनगरका अध्यक्ष गफार अंसारी मियाँ, कोशीका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंह-५ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी, इनरुवा १० का वडा अध्यक्ष सुलताम मियाँ सदस्य रहेका छन् ।

समितिले आईतबारबाट नै काम थालेको जनाएको छ । समितिले घटनाको प्रारम्भिक जानकारी, शवको अवस्था मुचुल्का र पोष्टमार्टमसम्मको विवरण प्रत्यक्ष अवलोकन गरेको छ भने थप काम सोमबारबाट थाल्ने जनाएको छ ।

एक युवतीसँग प्रेम विवाह गरेका भोक्राहा नरसिंह गाउँपालिका-५ का २५ बर्षीय हकिम मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

उनको हिरासतभित्रै पासो लगाएको अवस्थामा शव भेटिएपछि सुनियोजितरुपमा हत्या भएको भन्दै आफन्तजन तथा स्थानीयले प्रर्दशन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय अघि प्रर्दशनको क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । प्रर्दशनकारीले इनरुवा बजार बन्द गराएका थिए भने पुर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका थिए ।