धरान : धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा आज धूमधामले हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ ।

दन्तकाली मन्दिर व्यवस्थापन समिति र धरान १४ वडा कार्यालयको समन्वयमा आज फूलपाती धूमधामले भित्र्याइएको हो । दिउसो साढे १ बजे दन्तकाली मन्दिरबाट निस्किएको समूह विजयपुर चौक हुँदै, गणेश चौकबाट पिण्डेश्वर मन्दिरमा पुगेको थियो ।

पिण्डेश्वर मन्दिरको परिसर भित्र रहेको बेलको रुखबाट नवपत्रिका जसलाई नौ देवीको रूप मानिएको फूलपाती विशेष प्रकारको सजिसजाउको डोलीमा बोकेर डाडागाउँ चौक हुँदै दन्तकाली मन्दिरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउँदा गरिने विशेष बलि पूजा सम्पन्न गरी विधिवत् फूलपाती भित्र्याइएको छ ।

दन्तकाली मन्दिर कोरोना महामारीका कारण गत वर्ष बन्द रहेको थियो । यो पटक पन्चे बाजा सहित सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी, धरान उपमहानगरपालिका मेयर तिलक राई, पूर्व कानुन मन्त्री हिक्मत कार्की, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, १३ नम्बर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

तस्बिरहरू : कमानसि याम्फु र सुधाकर पोख्रेल

Fulpati-2 Fulpati-4 Fulpati-3 Fulpati-6 Fulpati-5 Fulpati-10 Fulpati-8 Fulpati-7 Fulpati-1