इटहरी : जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर इटहरी २ को एकैघरका १ सय २ जनालाई भने अष्टमीको दिन सम्म पनि दशै आएको थिएन । न नयाँ नाना थियो,न मासु खाना । एक सय दुई जना सडक मानवलाई आश्रय दिइरहेको इटहरी स्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैको आभास भएको छ ।

उपमहानगरपालिकाको तर्फबाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि माया घरमा बल्ल दशै आएको छ । अष्टमीको दिन त्यहाँका सबै १०२ जनाका लागि नयाँ लुगा र मासु खानाको व्यवस्था सहित उपमहानगरको तर्फबाट उपप्रमुख गौतम माया घर पुगेकी हुन् । उपप्रमुख गौतमले सबैलाई कपडा र खाना दिइन् ।

उनले सवै जना घर घरमा दशैको उमङ्गमा रमाइरहेका वेला माया घरमा आश्रित एक सय दुई जनाका लागि इटहरी उपमहानगरपालिकाले दशैको अनुभूति गराउने कोसिस गरेको बताइन् ।

माया घरकी सचिव सुभद्रा प्याकुरेलले माया घरमा बल्ल दशै आएको प्रतिक्रिया दिइन् । अप्ठ्यारो परेको वेला उपमहानगरको तर्फबाट सहयोग लिएर उपप्रमुख आइरहँदा माया घरलाई सजिलो हुने गरेको उनको भनाई छ ।

माया घरले मानसिक सन्तुलन ठिक नभएर असहाय रूपमा सडकमा बस्न बाध्य महिला तथा बालबालिकालाई आश्रय दिँदै आएको छ ।